काठमाडौं प्रवेश गर्ने चार नाकामा कोरोनाको खोप दिइने – Himalayan Dainik

काठमाडौं प्रवेश गर्ने चार नाकामा कोरोनाको खोप दिइने


काठमाडौं प्रवेश गर्ने चार नाकामा कोरोनाको खोप दिइने

काठमाडौँ  – काठमाडौँ महानगरपालिकाले चार नाका कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ ।

महानगरको स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । यही मङ्सिर ५ गतेदेखि सुरु भएको कार्यक्रम आगामी पुस ५ गतेसम्म चल्ने महानगरले जानकारी दिएको छ । काठमाडौँ प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई उमेर खुलेको प्रमाण आधारमा खोप दिइने छ । कामपा स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले निर्धारण गरिएको चारवटै खोप केन्द्रबाट केन्द्रबाट भेरोसेल, कोभिसिल्ड–एस्ट्राजेनिका खोप उपलब्ध हुने जानकारी दिनुभयो ।यससँगै महानगरका ३२ वटै वडामा यसअघि तोकिएको खोप केन्द्रबाट मङ्सिर ७ र ८ गते कोभिड विरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुनेछ ।

यसमा १८ वर्ष उमेर समूह माथिका र यसअघि खोप लगाउन छुटेका सबै नागरिक, पहिलो मात्रा लगाएर आठ हप्ताको समय कटिसकेकाहरूलाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ । यहाँ भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनिका खोप उपलब्ध हुनेछन् ।