केपी ओलीलाई ‘फादर अफ द नेशन’को रूपमा युवाले स्विकारिसके : बस्नेत – Himalayan Dainik

केपी ओलीलाई ‘फादर अफ द नेशन’को रूपमा युवाले स्विकारिसके : बस्नेत


केपी ओलीलाई ‘फादर अफ द नेशन’को रूपमा युवाले स्विकारिसके : बस्नेत

काठमाडौं – नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई युवाहरूले ‘फादर अफ द नेशन’का रूपमा स्विकारिसकेको बताएका छन् ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनका लागि सचिव पदमा उम्मेदवारी घोषणा गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली नै दशौं महाधिवेशनबाट सर्वसम्मत् अध्यक्ष हुने पनि दाबी समेत गरेका छन् । ‘हाम्रो अध्यक्ष केपी ओलीलाई ‘फादर अफ द नेशन’को रूपमा युवाहरुले स्विकार गरेका छन्, यो महाधिवेशनले उहाँलाई नै सर्वसम्मत अध्यक्ष बनाउँछ भन्नेमा म विश्वस्त छु,’ उनले भने ।

पार्टीले यसअघि नै विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेकाले चितवनमा हुने १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिने उनको भनाइ छ । ‘जनपरिचालनको हिसाबले हामी यो महाधिवेशनलाई धेरै भव्य र ऐतिहासिक बनाउँछौं । कुनै दलले अहिलेसम्म गर्न नसकेको जनसहभागिता गराउँछौं । नारायणी किनारादेखि गैंडाकोट सबै भू–भाग मानवसागरले भरिन्छ,’ उनले भने ।

उनले नेतृत्व चयनको विषयमा अनेक खालको बहस हुने गरेको पनि स्मरण गराए । उनले भने, ‘कम्युनिष्ट पार्टी नेताप्रधान होइन, नीति प्रधान हुन्छ भनेर पुष्पलालले भन्नुभएको थियो, तर नेपालमा नेतृत्वलाई विस्थापित गर्ने भूमिका पनि खेलिएको हामीले पाएका छौं, दुईधारको संघर्षको नाममा नोहरुलाई खुइल्याउने, कमजोर बनाउने र विस्थापित गर्ने काम पनि यहाँ भएको छ ।’

छिमेकी देशहरूको उदाहरण प्रस्तुत गर्दै बस्नेतले भने, ‘भारतले नरेन्द्र मोदीलाई र चीनले सि जिनफिङलाई अघि बढाएका छन् । यो महाधिवेशनबाट हामी केपी ओलीलाई एउटा सर्वमान्य नेताको रुपमा अध्यक्षको हिसबाले अगाडि बढाउन चाहिरहेका छौं ।’ अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्दा नेपालको गरिमा विश्वसामू बढेको उनको दाबी छ ।

‘केपी ओलीले राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिमा जुन खालको प्रभाव दिनुभयो, त्यसले नेपाली जनताको शान, मान र गौरव बढ्यो । संसारको मार्गचित्रमा नेपालको गरिमा बढेको छ,’ उनले भने ।