हेटौंडा अस्पताललाई ‘ए ग्रेड’को एम्बुलेन्स हस्तान्तरण – Himalayan Dainik

हेटौंडा अस्पताललाई ‘ए ग्रेड’को एम्बुलेन्स हस्तान्तरण


हेटौंडा अस्पताललाई ‘ए ग्रेड’को एम्बुलेन्स हस्तान्तरण

हेटौंडा  – मकवानपुरको हेटौंडा अस्पताललाई ‘ए ग्रेड’को एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित अस्पताललाई एमुलेन्स हस्तान्तरण गरिएको हो । यो एमुलेन्स प्राप्त गरेसंगै अब भने मकवानपुरका गम्भिर बिरामीलाई अन्यत्र ठुला अस्पतालमा उपचार गर्न लैजानका लागि थप सहज भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नेपाल भारत सहयोगमा आएको आइसियु र मेडिकल विशेषज्ञ सहितको सुविधा भएको एम्बुलेन्स हस्तान्तरण गर्नु भएको हो ।

मन्त्री खतिवडाले एक कार्यक्रमकाबीच अस्पतालका मेसु डा रामचन्द्र सापकोटालाई हस्तान्तरण गर्नुभयो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले हेटौंडा बागमती प्रदेशको राजधानी भएकोले यहाँ प्रदेशस्तरको अस्पतालका रुपमा हेटौंडा अस्पताललाई स्तरोन्नती गरिनुपर्ने र त्यसका लागि मन्त्रालयको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘ यो त सुरुवात मात्रै हो, हेटौंडा अस्पताललाई कसरी स्तरोन्नती गर्न सकिन्छ भन्ने विषयमा अस्पताल व्यवस्थापन समिति गम्भीर हुनुपर्छ । मन्त्रालयको तर्फबाट मैले सक्नेजती सहयोग उपलब्ध गराउँछु ।’ अस्पतालको भवन निर्माण, स्वास्थ्य उपकरणको उपलब्धता र दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।

अस्पताललाई हस्तान्तरण गरिएको एम्बुलेन्समा आइसियू तथा बेडको सुविधा रहेको छ । सो एम्बुलेन्समा चिकित्सकहरुले विरामीहरुलाई आपतकालिन स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने छन् । कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, मुनु सिग्देल, प्रदेश स्वास्थ्य निर्देशक महेश्वरमान श्रेष्ठ, अस्पतालका मेसु डा रामचन्द्र सापकोटा, डा हरिबहादुर खड्का, नेकपा एकिकृत समाजवादी मकवानपुका अध्यक्ष श्रीधर पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।