रामदेवले नेपालमा टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लंघन होः पत्रकार महासंघ – Himalayan Dainik

रामदेवले नेपालमा टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लंघन होः पत्रकार महासंघ


रामदेवले नेपालमा टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लंघन होः पत्रकार महासंघ

काठमाडौँ – भारतको पतञ्जली योग पिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्नु कानुनको ठाडो उल्लंघन भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै रामदेवले नेपालमा टेलिभिजिन खोल्नु र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालको प्रचलित कानुनले समेत सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा पतञ्जली योग पिठले टेलिभिजन खोल्नु नेपालको प्रचलित कानुनको ठाडो उल्लंघन भएको विज्ञप्तिमा भनिएको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी खुल्ला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आमसञ्चारमाध्यमहरूलाई राखेको कानुनी प्रवन्धप्रति महासंघले सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ ।

दर्ता प्रक्रियासमेत पूरा नगरी टेलिभिजन सञ्चालन गर्न लागिएकाले महासंघले सम्बन्धित पक्षलाई राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियामावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका स्मरण समेत गराएको छ ।

स्वदेशी सञ्चारमाध्यमको व्यावसायिकतामाथि आँच पुग्ने गरी आएको सञ्चार क्षेत्रमा विदेशी लगानीले नेपालको राष्ट्रियता, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पार्न सक्ने प्रभाव प्रति सबै गम्भीर र संवेदनशील हुन आवश्यक रहेको निष्कर्ष महासंघको रहेको विज्ञप्तिमा उल्लेख छ ।

महासंघ कानुनविपरित सञ्चार क्षेत्रमा विदेशी लगानी रोक्न र स्वदेशी लगानीका सञ्चारमाध्यमलाई प्रतिस्पर्धात्मक तथा व्यावसायिक रूपमा विकास गर्ने वातावरण निर्माण गर्न नेपाल सरकारसंग जोडदार माग गरेको महासंघका महासचिव रोसन पुरीले जनाएका छन् ।