सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार – Himalayan Dainik

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार


सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

काठमाडौँ – नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित सहित ३ जना पत्रकार महिलालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा घोषणा गरिएको यस पुरस्कारबाट पण्डितसँगै प्रेस काउन्सिलकी पूर्व सदस्य संगिता खड्का र सञ्चारिका समूहकी सदस्य पूनम पौडेलले पाउने भएका छन् । कोरोनाको कारण अघिल्लो वर्षको पुरस्कार समेत यसै वर्ष घोषणा गरिएको हो । खड्का राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ बाट हो भने पण्डित र पौडेल २०७७ बाट पुरस्कृत हुन लागेका हुन् ।

पुरस्कार घोषणा कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङ्गले श्रमजिवी पत्रकारको क्षमता अभिबृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, पत्रकार कल्याण कोषको परिचालन लगायत लोककल्याणकारी विज्ञापन र अनुदान सहायता मार्फत आमसञ्चार क्षेत्रको समस्या सम्वोधन गरिने बताए । उनले भने, ‘कोभिड १९ लाई प्राथमिकतामा राखेर सकारात्मक सन्देश संप्रेषण गर्न, सामाजिक सञ्जालको मर्यादित प्रयोग गर्न आव्हान गर्दछु ।’

पुरस्कार कार्यक्रम कोरोना कहरपछि उपयुक्त समयमा कार्यक्रम आयोजना गरी प्रदान गरिने छ । मन्त्रालयले वर्षेनी दुई जनालाई वरिष्ठ पत्रकार सम्मान प्रदान गर्दै आएको छ । यसको राशी जनही रु २ लाख छ । त्यसैगरी ६ जनालाई जनही रु १ लाखबाट राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । कोरोनाको विषम् परिस्थितिमा पनि

पत्रकारलाई प्रोत्साहन होस् भनि यो पुरस्कारको घोषणा गरिएको पुरस्कार छनोट समितिका सदस्य डाक्टर समिक्षा कोइरालाले बताइन् । उनले भनिन्, ‘यो बेला पत्रकारलाई प्रोत्साहन दिन आवश्यक छ, काम कार्यविधि र समावेशीताको आधारमा पुरस्कार छनोट गरेका हौं ।’