लेखक आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ बजारमा – Himalayan Dainik

लेखक आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ बजारमा


लेखक  आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ बजारमा

काठमाडौं  – लेखक कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ बजारमा आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा शनिबार अभिनेत्री गौरी मल्ल, लेखक तथा पत्रकार अश्विनी कोइराला, लेखक आचार्य र पाठक कुशल घिमिरेले संयुक्त रुपमा पुस्तक विमोचन गरे । यसअघि आचार्यको ‘अप्रिल फुल’ नामक उपन्यास प्रकाशित छ ।

‘ब्लु डायरी’ विमोचन कार्यक्रममा अभिनेत्री मल्लले आफूले पुस्तकको पात्रका रुपमा आफूलाई अनुभूत गरेको बताउँदै यो पुस्तक हरेकको जीवनसँग मेल खाने खालको रहेको बताइन् । भनिन्, ‘मैले मेरो जीवनमा धेरै पुस्तक पढेकी छु । मैले पढेकामध्ये यो पुस्तकले मलाई निकै भाबुक बनायो । यसको सुन्दर कथाले पक्कै सबैको मन जित्न सफल हुनेछ ।’ उनले सबैलाई एकपटक यो पुस्तक पढेर जीवनबारे बुझ्नसमेत आग्रह गरिन् ।

लेखक कोइरालाले पुस्तक निकै फरक सन्दर्भ र सरल भाषा–शैलीमा लेखिएको हुनाले सबै पाठकको मन जित्न सफल हुने बताए । भने, ‘पुस्तकमा समाज, प्रेम र जीवन छ । पढ्दा आनन्द आउने त छदै छ, जीवनमा कुनै न कुनै प्रभाव पनि पक्कै छाड्नेछ ।’ लेखक आचार्यले आफूले यो पुस्तकबाट धेरै अपेक्षा गरेको बताउँदै मन परे ताली र मन नपरे गाली गर्न पाठकलाई आग्रह गरे । भने, ‘मलाई आफ्नो पुस्तक प्रिय छ, अब यो तपाईंहरुको पनि प्रिय बन्नेछ भन्ने अपेक्षा छ ।’

पाठक घिमिरेले पुस्तक युवा पुस्ताले पढ्नै पर्ने खालको रहेको बताउँदै भने, ‘हाम्रो जीवन बुझ्न र जीवनलाई सहि तरिकाले बाँच्न पुस्तकले सिकाउँछ ।’ बिएन पुस्तकले बजारमा ल्याएको ‘ब्लु डायरी’ उपन्यासको मूल्य ३५० रुपैयाँ रहेको छ ।