डिशहोमले ला लिगा फुटबल लिग प्रसारण गर्दै – Himalayan Dainik

डिशहोमले ला लिगा फुटबल लिग प्रसारण गर्दै


डिशहोमले ला लिगा फुटबल लिग प्रसारण गर्दै

काठमाडौं  – डिशहोमले नेपाली टेलिभिजनको इतिहासमा नै पहिलोपटक ला लिगा फुटबल लिग सिजन २०२१–२२ प्रसारण गर्ने भएको छ ।

स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रूपमा लिइने यो प्रतियोगिताको नेपालका लागि पे टीभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ ।

हाल डिशहोममा खेल च्यानलको रूपमा एक्सन स्पोर्ट्स एचडी १ र एक्सन स्पोर्ट्स एचडी २ प्रसारण भइरहेकोमा ला लिगाको खेलहरू भने एक्सन स्पोर्ट्स एचडी २ मा प्रसारण हुनेछ । डिशहोमका ग्राहकले दुई हजार रुपैयाँको सिजन टिकट किनेर एक्सन स्पोर्ट्स एचडी २ मा लिग अवधिभर सञ्चालन हुने खेलहरू हेर्न सक्ने जनाइएको छ ।

डिशहोमका मल्टि टीभीका ग्राहकहरूले अतिरिक्त सेट टप बक्समा पनि एक्सन स्पोर्ट्स एचडी २ हेर्नका लागि थप दुई हजार रुपैयाँको सिजन टिकट खरिद गर्नुपर्ने  हुन्छ ।

हाल डिशहोमको ग्राहकलाई उपलब्ध रहेको ला लिगाको सिजन टिकट छिट्टै सिम टीभी, प्रभु टीभी र डिशहोमको ओटीटी (डिशहोम गो)मार्फत पनि उपलब्ध हुने जनाइएको छ ।

बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिड, भ्यालेन्सियाजस्ता संसारकै उत्कृष्ट क्लबहरूले खेल्ने र सबैभन्दा लोकप्रिय पेसागत फुटबल लिगमध्येको एक ला लिगाको चर्चा तथा लोकप्रियता नेपालमा पनि रामै्र रहेको छ ।

नेपालको पहिलो र एक मात्र स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले यसअघि पनि फिफा वर्ल्डकप २०१८, युरो २०२० र कोपा अमेरिका २०२१ जस्ता लोकप्रिय तथा विश्वस्तरीय प्रतियोगिताहरू सफलतापूर्वक प्रसारण गरिसकेको छ ।