काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले कोभिड–१९ महामारीबाट अति प्रभावित क्षेत्रहरूमध्ये होटल, ट्राभल, ट्रेकिङ हवाई सेवालगायत बाहय पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीहरूलाई केही रात दिएको छ ।
पर्यटन व्यवसायका निम्ति ऋण लिएका व्यवसायीको वित्तीय अवस्था विश्लेषण गरी आवश्यकताअनुसार २०७९ असार मसान्तसम्म पाक्ने ब्याज छुट्टै हिसाबमा राखेर ऋण रकममा थप हर्जाना र पेनाल नलाग्ने व्यवस्था गरिएको छ ।
महामारीबाट अति प्रभावित रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवासयका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँबा तथा ब्याज दायित्वको समयावधि एक वर्ष बढाएर कम्तिमा चार किस्तामा भुक्तान गर्न पाउने प्रबन्ध मौद्रिक नीतिमार्फत गरिएको छ । महामारीका कारण नगद प्रवाह अवरुद्ध भएका लघु, घरेलु, साना र मझौला उद्योगहरूले पनि उक्त सुविधा उपभोग गर्न पाउने छन् ।
कोभिड–१९बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान, आर्थिक स्थायित्व, उत्पादकत्व वृद्धि, रोजगारी सृजना, उत्पादनशील अर्थतन्त्र निर्माण तथा उद्यमशीलता प्रवद्र्धनलाई मौद्रिक नीतिले विशेष जोड दिएको छ ।