सेयर बजार हालसम्मकै उच्च बिन्दुमा – Himalayan Dainik

सेयर बजार हालसम्मकै उच्च बिन्दुमा


सेयर बजार हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ –  बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले हालसम्मका सबै रेकर्ड ब्रेक गरेको छ । बुधबार सेयर बजार ३ हजार १ सय १२ बिन्दुपार गरेर फर्किएको हो । दिनभर बजारमा उतारचढाव आउँदै अन्त्यमा नेप्से ३ हजार ९४ दशमलव ९४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । बैंकमा सहज तरलता र सस्तो ब्याजदर नै सेयर बजारमाथि जाने प्रमुख कारण हुन् । यस दिन बिमा र होटेल तथा पर्यटन समूहमा बढी आकर्षण देखिएको थियो ।

प्रायः साउन–भदौमा सेयर बजारमा रौनकता आउने गर्छ । यस समयलाई सेयर बजारको प्रमुख सिजनका रूपमा लिइन्छ । साउन मसान्तसम्म सबै सूचीकृत कम्पनीहरूले वित्तीय विवरण सार्वजनिक गर्ने र त्यसपछि लाभांश घोषणा हुने भएकाले सेयर बजारमा लगानीकर्ता सक्रिय हुने जानकारहरू बताउँछन् ।

पछिल्लो समय नयाँ उचाइमा पुगेको बजारले हरेक दिन उच्च बिन्दुको रेकर्ड बनाउने र अर्को दिन घट्ने प्रवृति देखिएको छ । आइतबारको रेकर्ड मंगलबार र मंगलबारको रेकर्ड बुधबार तोडिएको छ । १५ दशमलव ३० अंकले बढेको बजारमा २ सय १९ कम्पनीको १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँ बराबरको २ करोड ८१ लाख ७० हजार १ सय ७२ कित्ता सेयर कारोबार भएका छन् ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये नौवटा उपसमूह बढेका छन् भने बाँकी घटेका छन् । बुधबार निर्जीवन बिमा समूह सर्वाधिक ४४९ दशमलव ५६ अंकले बढ्दा जीवन बिमा समूह ४३१ दशमलव ३८ अंकले बढेकोे छ । प्रतिशतका आधारमा भने सबैभन्दा बढी होटल तथा पर्यटन समूह ७ दशमलव शून्य ९ प्रतिशतले बढेको छ ।

त्यस्तै, फाइनान्स समूहसमेत ७० दशमलव १६ अंकले, विकास बैंक ४८ दशमलव ३६ अंकले, लघुवित्त ३७ दशमलव २४ अंकले, लगानी, व्यापार र अन्य समूहसमेत बढेका छन् । बाँकी जलविद्युत्, बैंकिङ, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड घटेका छन् ।

यस दिन नारायणी विकास बैंक, मल्टिपर्पोज फाइनान्स र चन्द्रागिरी हिल्सको सेयर मूल्य ठीक १० प्रतिशतले बढेको छ । युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक ३८ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, नेसनल हाइड्रोपावरको ३६ करोड ५३ लाख, अरुण भ्याली हाइड्रोपावरको ३३ करोड ६१ लाख र सानिमा माइ हाइड्रोको ३१ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको हो । त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् शून्य दशमलव शून्य २ अंकले बढेर ५ सय ७४ दशमलव ३२ को बिन्दुमा आइपुगेको छ ।