युरोप संयोजकमा उम्मेदवारी दिने कृष्ण तिमल्सेनाको तयारी – Himalayan Dainik

युरोप संयोजकमा उम्मेदवारी दिने कृष्ण तिमल्सेनाको तयारी


युरोप संयोजकमा उम्मेदवारी दिने कृष्ण तिमल्सेनाको तयारी

लन्डन,१२ साउन – लन्डनस्थित एकजना  एनआरएन अभियन्ता तथा एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले एनआरएनएको  युरोप संयोजक पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । विगत २० वर्ष देखि बेलायत बसोबास गर्दै आएका तिमल्सेना धादिङ धुवाँकोट निवासी हुन्  ।

तिमल्सेनाले गैरआवासीय नेपाली संघको अक्टोवर २३ देखि २५ सम्म हुने १० औं महाधिवेशनमा संघको युरोप संयोजकमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

सन् २००७ देखि एनआरएन अभियानमा संलग्न रहेका तिमल्सेनाले आफुले यो अभियानमा लगेर धेरै कुरा सिक्ने मौका पाएको बताए।

उनले “नेपालीका लागि नेपाली” भन्ने नाराको मूल मर्म अनुरुप विदेशमा बसेका नेपालीहरुको हितमा होस् वा नेपालमा कुनै पनि संकट पर्दा, व्यक्तिगत र सामूहिक रुपमा गरेको प्रयास स्मरणीय रहेको बताए।

“नयाँ देश र नयाँ परिवेशमा सन्तान हुर्काउंदै, व्यवसाय अगाडी बढाउँदै गर्दा हामीलाई आफ्नै समुदायको भरथेग निकै महत्वपूर्ण हुने रहेछ।  त्यस्तै हामीले गरेको सानो सहयोग पनि मातृभूमिका लागि ठूलो हुंदो रहेछ भन्ने मैले अनुभव गरे,” उनले भने।

सामाजिक काममा कहिल्यै पनि नाईं नभन्ने तिमल्सेना सन् २०१५ को भूकम्प होस् वा गत वर्ष देखि शुरु भएको कोभिड प्रकोप, सक्दो सहयोग गर्न सधैं अगाडी रहने गरेका छन्।

तिमल्सनाले एनआरएन केन्द्रीय सदस्य (२०१५–०१७), संघको अल्पकालिन तथा दीर्घकालिन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवर्धन सम्बन्धि समितिमा  समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

उनले गैरआवासीय नेपाली संघ, यूकेको सल्लाहकार (सन् २०१७), एनआरएनए युकेको अध्यक्षका प्रत्यासी (सन् २०१७–१९), गैरआवासीय नेपाली संघ, यूके उपाध्यक्ष (सन् २०१३–१५), गैरआवासीय नेपाली संघ, यूके कार्यसमिति सदस्य (सन् २०११–०१३) समेत रहेर काम गरिसकेका छन् ।

शालीन र निष्कलंक छवि

मृदुभाषी, शालीन र निष्कलंक छविका तिमल्सेना सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष हुन् । उनको यूके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।

उनले नेपालमा विद्यालय, वृद्धाश्रम, मन्दिर निर्माणदेखि अन्य विभिन्न सामाजिक काममा समेत निरन्तर सहयोग गर्दै आएका छन् । उनले नेपालमा हाइड्रो, रियलस्टेट, बैकिंङ, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका छन् ।

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनका लागि अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा निर्वाचन समिति गठन भै सकेको छ भने यसपटक अनलाइन माध्यमबाट चुनाव हुने बताइएको छ।