सरकारसँगै संसद्को आयु नेपालको हातमा – Himalayan Dainik

सरकारसँगै संसद्को आयु नेपालको हातमा


सरकारसँगै संसद्को आयु नेपालको हातमा

काठमाडौँ, ३० असार – सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश गरेलगत्तै कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकमा आकर्षणको केन्द्र थिए– एमाले नेता माधवकुमार नेपाल । आफूहरूकै राजनीतिक र संवैधानिक संघर्षको बलमा प्रतिनिधिसभा सर्वोच्चबाट ब्युँतिएको भन्दै बैठकमा गठबन्धनका नेताहरू खुसी थिए र यसमा उनीहरूले नेपाललाई ‘नायक’ रूपमा प्रस्तुत गरे ।

‘माधवजीको साहसिक निर्णय र ऐक्यबद्धताले प्रतिगमनकारी कदमविरुद्धको लडाइँमा जित हासिल गरेका छौँ । यो लडाइँमा हामीले प्रधानमन्त्रीका रूपमा देउवाजीलाई अगाडि सारेको भए पनि नायकचाहिँ माधव कमरेड नै हो,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मात्र होइन, अन्य नेताले पनि यही शैलीमा नेपालको उच्च प्रशंसा गरे ।

अंकगणितकै हिसाबले हेर्ने हो भने प्रतिनिधिसभा पुनःस्थापना गरी विपक्षी दलका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश आउनुमा एमालेका झलनाथ खनाल–नेपाल समूहको निर्णायक भूमिका छ । नेपालको यही भूमिका अब देउवा सरकारको निरन्तरताका लागि हुन्छ कि हुन्न ? सबैको नजर फेरि नेपालतर्फ सोझिएको छ । प्रतिनिधिसभा पुनःस्थापना र देउवालाई प्रधानमन्त्री बनाउने अदालतको परमादेश आएकै दिन नेपालले आफूलाई विपक्षी गठबन्धनबाट बाहिर निकालेका छन् । उनले आफ्नो पार्टीमा नयाँ राजनीतिक परिस्थिति आएको भन्दै गठबन्धनकै बैठकबाटै यस्तो उद्घोष गरेका थिए ।

योसँगै संसद्को बाँकी कार्यकाललाई लिएर फेरि आंशका छ । देउवाले विश्वासको मत पाए संसद्को कार्यकाल पूरा हुनेछ भने नपाए संसद् पुनः विघटन हुनेछ । धारा ७६ (५) का प्रधानमन्त्री देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । अहिलेको संसदीय अंकगणित हेर्ने हो भने नेपालको समर्थनबिना देउवाले विश्वासको मत पाउन सक्दैनन् । आफैंले संघर्ष गरेर ब्युँताएको संसद्लाई बाँकी कार्यकाल टिकाउने कि चुनावी प्रक्रियामा जाने ? नेपालमाथि एकातिर यो राजनीतिक प्रश्न छ भने अर्कोतिर आफ्नै दलको एकता कायम गर्ने चुनौती ।

अहिलेसम्म उनले केही निर्णय लिएका छैनन् । तर उनका सहयोगीहरू भने संसद्लाई जीवित राख्ने जिम्मेवारीमा आफूहरू अडिग रहेको बताउँछन् । ‘हामीले संविधान, लोकतन्त्र, सरकार, संसद्को स्थायित्व र आवधिक निर्वाचनको पक्षमा उभिनुपर्छ भनेर मुद्दा हालेका हौं,’ सांसद विरोध खतिवडाले भने, ‘त्यो मुद्दाको कोर्स पूरा भएको छैन । त्यो पूरा हुने काममा हामी जे गर्नुपर्छ त्यो गर्छौं ।’

पार्टीमा १० बुँदे सहमति भए पनि नेपाल समूह नै यस विषयमा एक मत छैन । यद्यपि नेपालनिकट मानिने नेता घनश्याम भुसालले कान्तिपुरसँग भनेका छन्, ‘संसद् अहिले शेरबहादुर देउवासँगै फर्केको छ, यो वास्तविकता हो । संसद् जोगाउने हो भने कसरी जोगाउने भनेर व्यावहारिक समाधान खोज्छौं नि, त्यतिखेर सम्भवतः एमाले एकै ठाउँ उभिन्छ ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।