सबै नेपालीलाई पुग्ने खोप प्रबन्ध गरिसकेका छौं: केपी ओली – Himalayan Dainik

सबै नेपालीलाई पुग्ने खोप प्रबन्ध गरिसकेका छौं: केपी ओली


सबै नेपालीलाई पुग्ने खोप प्रबन्ध गरिसकेका छौं: केपी ओली

काठमाडौं, २९ असर – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली जनतालाई पुग्नेगरी खोप आपूर्तिको प्रबन्ध गरिसकिएको जानकारी बताएका छन् ।

आज सिंहदरबार छाड्नुअघि राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले एक करोड ५० लाख डोज खोप सहुलियत मूल्यमा किन्ने प्रक्रिया जारी रहेको बताए ।

ओलीले सम्बोधनमा भने, ‘खोपको लागि सबै प्रबन्ध भइसकेको छ र दक्षिण एशियामा भारतपछि नेपाल दोस्रो हो । तर, भरेदेखि पहिले नै लगाइएका खोपको फोटो राखेर हामीले गर्‍यौं भन्न थाल्नेछन् तर म प्रचार होइन काममा विश्वास गर्छु, जनतालाई खोपको प्रबन्ध गरेर जाँदैछु ।’

ओलीले बालबालिकालाई लगाइने फाइजर ६० लाख डोज खोप पनि खरिद प्रक्रियामा रहेको बताए । उनले भारतबाट १० लाख डोज, चीनबाट अनुदानसहित ५८ लाख डोज खोप प्राप्त भएको बताए ।

ओलीले आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका छन् । यसका लागि उनले सबै नेपालीहरु, कर्मचारी सुरक्षाकर्मी, राष्ट्रसेवक, कोभिडविरुद्ध अग्रमोर्चामा खटिएकाहरु सबैलाई धन्यवाद दिएका छन् । त्यस्तै नेपालको विकास साझेदार मित्रराष्ट्रका सरकार प्रमुख र राष्ट्रप्रमुखलाई पनि ओलीले धन्यवाद दिएका छन् ।

ओलीले एकछिन बादल लागेको भन्दै फेरि बादल हटाएर सूर्य आउने दावी गरे । ओलीले पार्टी कार्यकर्तालाई धैर्यता नगुमाउन र संयमता अपनाउन आग्रह गरेका छन् ।