नेपाल टेलिकमले लाभांश वितरण गर्ने – Himalayan Dainik

नेपाल टेलिकमले लाभांश वितरण गर्ने


नेपाल टेलिकमले लाभांश वितरण गर्ने

काठमाडौँ,२४ चैत

नेपाल दूरसञ्चार कम्पनीले (नेपाल टेलिकम) आफ्ना शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज यहाँ सम्पन्न तेह्रौँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७६÷०७७ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ४० का दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले सोही आवका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु पारित गरेको कम्पनीले जनाएको छ ।

टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ग्राहकको अपेक्षाअनुरुप गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराइएको बताउनुभएको थियो । उहाँले कम्पनीलाई सबल र अग्रणी संस्थाको रुपमा विकास गरिएको जनाउँदै बन्दाबन्दीको अवधिमा ग्राहकलाई विभिन्न सेवाहरु उपलब्ध गराइएको जानकारी दिनुभयो ।

टेलिकमले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस, जिरो ब्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट रु १० करोड र कर्मचारीको तर्फबाट रु दुई करोड गरी रु १२ करोड योगदान गरेको थियो ।

यस्तै, गत आर्थिक वर्ष २०७६÷७७ मा कर तथा गैह्रकरबापत सरकारी राजश्वमा रु ३५ अर्ब पाँच करोड बुझाएको थियो । टेलिकमलाई गत आर्थिक वर्ष २०७६÷७७ मा रु ४२ अर्ब ९९ करोड राजश्व र रु नौ अर्ब ७५ करोड नाफा भएको बताइएको छ ।