काठमाडौं,२९ वैशाख – दार्चुलाको लिपुलेकमा भारतले सडक बनाएको विरोधमा सोमबार काठमाडौंमा विभिन्न समुहले विरोध प्रर्दशन गरेका छन् । भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक निर्माण गरी गत शुक्रबार उद्घाटन गरेपछि त्यसको विरोधमा नेपालमा विभिन्न समुहले प्रर्दशन गरेका छन् ।
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारले कुटनीतिक पहल गरी भारतलाई नेपाली भूमिमा कुनैपनि गतिविधि गर्न नदिन भन्दै प्रदर्शन गरेको हो । सरकारले तत्काल कुटनीतिक पहल गरी भारतलाई नेपाली भूमिमा कुनैपनि गतिविधि गर्न नदिन र लिपुलेक, कालापानी, लिम्पियाधुरा क्षेत्रमा आफ्नो उपस्थिति जनाउन नसकेको नेविसंघले जनाएको छ ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरिएको अवस्थामा सडकमा प्रर्दशन गरेको भन्दै प्रहरीले नेविसंघका नेताहरुलाई पक्राउ गरेको छ । यस्तै आजै दिउँसो राष्ट्रिय सीमा रक्षा अभियानका अभियान्ताहरुले पनि भारतले नेपालको भूमिमा सडक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका थिए । उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।