सांसद बस्नेतद्वारा भक्तपुरको जगातीमा सवारी साधन डिस्इन्फेक्सन टनेलको उद्धघाटन – Himalayan Dainik

सांसद बस्नेतद्वारा भक्तपुरको जगातीमा सवारी साधन डिस्इन्फेक्सन टनेलको उद्धघाटन


सांसद बस्नेतद्वारा भक्तपुरको जगातीमा सवारी साधन डिस्इन्फेक्सन टनेलको उद्धघाटन

भक्तपुर, २९ वैशाख – विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतद्वारा भक्तपुरको जगातीमा निर्माण गरिएको सवारी साधन निर्मलीकरण गर्न निर्माण गरिएको डिसइन्फेक्सन टनेलको शुभारम्भ गरिएको छ ।

सुन्दर यातायात प्रालीको सहयोगमा जिल्ला समन्वय समिती, सूर्यविनायक नगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय तथा सूर्यविनायक नगरपालिका वडा नं. ८ को संयुक्त सहकार्यमा उक्त टनेलको आइतवार सांसद वस्नेतद्वारा शुभारम्भ गरिएको हो । कोरोना भाइरसको संक्रमण फैलन नदिने उद्देश्यका साथ पूर्वतिरका जिल्लाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको उक्त स्थानमा सवारी साधनलाई डिसइन्फेक्सन गर्ने टनेलको शुभारम्भ गरिएको बताइएको छ ।

नेपाल सरकारले कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि खेलेको भूमिकालाई आम नेपाली जनता तथा सम्बनधीत निकायले पालना गरी सहयोग गर्नुपर्ने वर्तमान समयको अनिवार्यता रहेको उल्लेख गर्दै सांसद वस्नेतले विश्वका अधिकांश देशहरुमा कोरोनाको संक्रमणका कारण लाखौंले अकालमा नै ज्यान गुमाउनु परेको यो विषम् परिस्थितीमा आम नागरिक तथा सम्बन्धी निकाय सजक हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारले कोरोनाको रोकथामको लागि गरेको लकडाउनको सवै ठाउँहरुमा प्रशंसा भइरहेको उल्लेख गर्दै उहाँले नेपालमा कोरोनाको परिक्षण गर्ने किटको अभाव भन्ने हल्ला औचित्यहिन भएको बताउनुभयो । कोरोना परिक्षणको किट आवश्यक मात्रामा उपलब्ध रहेको बताउँदै उहाँले विश्वका विकसित मुलुकभन्दा उत्कृष्ट परिक्षण गर्ने मुलुकमा नेपाल रहेको दावी गर्नुभयो । यसैको कारण नेपालमा हासम्म कोरोनाबाट कुनै पनि मानविय क्षती नभएको स्पष्ट पार्नुभयो ।

निर्माण कार्य, साना उद्योग, सप्लाईका कार्य, निर्माण सामाग्रीको आयात लगायतका कार्यहरुमा प्रशासनको सहकार्यमा सहज रुपमा भइरहेको जानकारी गराउँदै सांसद बस्नेतले डामाडोल भइरहेको अर्थव्यवस्थालाई ठिक बाटोमा ल्याउन सरकारले जारी गरेको आदेशलाई कार्यान्वयन गर्ने कार्यमा भक्तपुर अग्र स्थानमा रहेको बताउनुभयो ।

सांसद बस्नेतले पेट्रोलियम पदार्थको परनिर्भरतालाई अन्त्य गर्ने मुख्य लक्ष्यका साथ सुन्दर यातायातले काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधनको प्रयोगलाई अघि बढाएकोमा विशेष धन्यवाद समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा सांसद बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सूर्यविनायक नगरपालिका उपप्रमुख जुना बस्नेत, भक्तपुर प्रहरी प्रमुख सविन प्रधान, सशस्त्र प्रहरी प्रमुख विश्व भट्टराईलगायतको सहभागिता रहेको थियो ।