भारतले अहिले १९ किलोमिटर नेपाली भूमि मिच्यो : मन्त्री ज्ञवाली – Himalayan Dainik

भारतले अहिले १९ किलोमिटर नेपाली भूमि मिच्यो : मन्त्री ज्ञवाली


भारतले अहिले १९ किलोमिटर नेपाली भूमि मिच्यो : मन्त्री ज्ञवाली

काठमाडौँ, २८ वैशाख – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मानसरोवरसम्म पुग्ने बाटो निर्माणको क्रममा भारतले नेपालको १९ किलोमिटर भूमि मिचेको जानकारी दिनुभएको छ ।

आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले नेपाली भूमि मिचेर सडक निर्माणको प्रारम्भिक जानकारी प्राप्त हुनासाथ त्यसबारे विस्तृत विवरण दिल्ली दूतावासमार्फत् मगाइएको बताउनुभयो । नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको पूर्वजानकारी आफूहरुलाई पहिल्यैदेखि थाहा भएको पनि बताउँदै उहाँले त्यसो नगर्न नेपालले आग्रह गरे पनि भारतले त्यसलाई ध्यान नदिएको बताउनुभयो ।

सुगौली सन्धिलाई परिवर्तन गर्ने गरी अर्को सन्धि नभएको बताउँदै मन्त्री ज्ञवालीले भन्नुभयो, ‘काली नदी नै हाम्रो सीमा हो । एकतर्फी निर्णय स्वीकार्य हुँदैन र छैन ।’

मन्त्री ज्ञवालीका अनुसार भारतले सन् १९९९ मानसरोबरसम्म जाने बाटोको प्रोजेक्ट सुरु गरेको थियो । सन् २००५ मा परियोजना स्वीकृत भएपछि २००८ बाट बाटो निर्माणको काम सुरु गरेको थियो । सन् २०१४ बाट द्रुत गतिमा काम अघि बढ्यो । यसैक्रममा सन् २०१५ मा चीन र भारतबीच लिपुलेकलाई ब्यापारिक केन्द्र बनाउने सहमतिसमेत भएको उनले जानकारी गराउनुभयो ।