आजदेखि उपत्यकाको लकडाउनमा नयाँ मोडालिटी, सवारी साधनमा टाइमकार्ड लागू – Himalayan Dainik

आजदेखि उपत्यकाको लकडाउनमा नयाँ मोडालिटी, सवारी साधनमा टाइमकार्ड लागू


आजदेखि उपत्यकाको लकडाउनमा नयाँ मोडालिटी, सवारी साधनमा टाइमकार्ड लागू

काठमाडौैं, २८ वैशाख – आइतबारदेखि सरकारले लकडाउनको मोडेललाई केही परिमार्जन गरेको छ । नयाँ प्रावधानअनुसार अत्यावश्यक लगायत विभिन्न कामका प्रयोजनका सवारी साधनहरुलाई टाइम कार्ड लागू गर्ने जनाइएको छ।

निर्धारित समय तालिका अनुसार सवारी साधन चलाउन पाउने महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले बताए ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायबीच भएको बैठकले गरेको प्रस्तावलाई गृह मन्त्रालयले स्वीकृति दिएपछि समय तालिकाका आधारमा सवारीसाधन सञ्चालन गर्न लागिएको उनले बताए ।

उनले भने, ‘गाडी चलाउन पाइने भनेर सबै गाडी चलाउन पाइने हैन, गाडी चलाउन त कडा नै हुन्छ । निर्माण सामग्री बोकेका ठूला ट्रकहरु, अस्पताल, वित्तीय संस्था, बैंक, सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाई समय तालिकाअनुसार दिने निर्णय भएको छ ।’

ट्राफिक प्रहरी प्रमुख ढकालका अनुसार निम्न अनुसार सवारी सञ्चालन गर्न पाइने छः

  • निर्माण सामग्री बोकेका ठुला टिपर र ट्रकरु बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र उपत्यका छिर्न पाउनेछन् ।
  • निजामती कर्मचारी, बैंक तथा वित्तीय सेवाका कर्मचारी बिहान ९ बजेदेखि साढे ९ बजेभित्र कार्यालय पुगिसक्ने, बैंकका कर्मचारीहरु साढे ३ देखि ५ बजेसम्म घर फर्किसक्नुपर्ने, अन्य कर्मचारीको हकमा ५ देखि ६ बजेसम्म फर्किसक्नु पर्नेछ ।
  • सामान्यतया, अत्यावश्यक सामग्री बोकेका गाडीहरु जस्तैस् तरकारी, खाद्य सामग्री, फलफूललगायत बोकेका सवारीसाधन बिहान १० बजेभित्र मात्र सञ्चालन हुन पाउने छन्
  • ४४ प्रकारका उत्पादन तथा सेवा सञ्चालनसँग सरोकार राख्नेका सबै सवारी साधन सञ्चालन गर्न भने नपाउने ।

माथि उल्लेखित सवारी साधन सञ्चालनका लागि आफ्नो कार्यालयबाट जारी गरिएको पत्र बोक्नुपर्ने व्यवस्था गरिएको छ । तर राति चल्ने निर्माण सामग्री बोकेका सवारीसाधनका लागि पास आवश्यक नपर्ने ट्राफिक महाशाखा प्रमुख ढकालले जानकारी दिए ।