अमेरिकाले चिनियाँ पत्रकारलाई भिसा दिन कडाइ गर्‍यो – Himalayan Dainik

अमेरिकाले चिनियाँ पत्रकारलाई भिसा दिन कडाइ गर्‍यो


अमेरिकाले चिनियाँ पत्रकारलाई भिसा दिन कडाइ गर्‍यो

एजेन्सी,२७ वैशाख – अमेरिकाले चिनियाँ पत्रकारलाई भिसा दिन कडाइ गरेको छ। अमेरिका र चीनबीच कोरोना भाइरसको विषयमा विवाद भइरहेको समयमा अमेरिकाले चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाइ गर्न उनीहरुका लागि भिसाको नियम जटिल बनाएको रोयटर्सले जनाएको छ।

अमेरिकाको पछिल्लो निर्णयले चिनियाँ पत्रकारलाई अमेरिका प्रवेश गर्न गाह्रो हुने देखिएको छ। अमेरिकी पत्रकारलाई चीन सरकारले गरेको व्यवहार प्रति असन्तुष्टि व्यक्त गर्दै अमेरिकाले पनि चीनको पत्रकारलाई भिसा दिनमा कडाइ गरेको हो।

हाल दुवै देश एक अर्काप्रति खनिइरहेका छन्। अमेरिकाले सांकेतिक रुपमा कोरोना भाइरस चीनले प्रयोगशालामा निर्माण गरेको बताइरहँदा अमेरिकी गैरजिम्मेवारपूर्ण व्यवहारका कारण अमेरिकामा कोरोनाले धेरै क्षति पुर्याएको बताइरहेको छ।

गत मार्च महिनामा चीनले अमेरिकाबाट प्रकाशित हुने तीन पत्रिकाका पत्रकारहरुलाई चीनबाट देश निकाला गरेको थियो।उनीहरुले लेखेको समाचार चीन विरोधी भएको भन्दै चीनले पत्रकारहरु देश निकाला गर्नुपरेको उल्लेख गरेको थियो।

त्यस्तै अमेरिकाले पनि चीनको पाँच सरकारी संचार माध्यमका पत्रकार अमेरिकामा सिमित मात्र राख्न पाइने नियम बनाएको छ।