सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदै – Himalayan Dainik

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदै


सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदै

काठमाडौँ, २६ बैशाख – सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ ।

कोरोना भाइरस कोभिड–१९को कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरिसकेको छ । बिहीबारदेखि सङ्घीय संसद्का सदस्यहरूको कोरोना परीक्षण पनि शुरू गरिएको छ । राष्ट्रपतिको अधिवेशन प्रारम्भसम्बन्धी पत्र पढेर शुक्रबार बैठक प्रारम्भ गरिनेछ ।

राष्ट्रिय सभातर्फ अघिवेशन प्रारम्भ भएको अवसरमा दलीय आधारमा शुभकामना मन्तव्यको सम्भावित कार्यसूची तय गरिएको छ तर प्रतिनिधि सभाको कार्यसूची एकिन भइसकेको छैन । अधिवेशन नभएको बेला निधन भएका पूर्व सभासद् प्राडा विश्वनाथप्रसाद अग्रवालको निधनमा शोक प्रस्ताव पारित हुनेछ ।

यस्तै, सरकारले हालै दुई अध्यादेश जारीपछि साबिकका व्यवस्था पुनः जगाउन जारी गरेको केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिक व्यवस्था जगाउने अध्यादेश २०७७ दुवै सदनमा प्रस्तुत हुनेछ ।