उपत्यकामा सञ्चालित मेसको स्थलगत अनुगमनमा पुगे मन्त्री : मानन्धर – Himalayan Dainik

उपत्यकामा सञ्चालित मेसको स्थलगत अनुगमनमा पुगे मन्त्री : मानन्धर


उपत्यकामा सञ्चालित मेसको स्थलगत अनुगमनमा पुगे मन्त्री : मानन्धर

काठमाडौं, २४ बैशाख – सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित सामुहीक मेसको स्थलगत अनुगमन गरेका छन् । बुधबार काठमाडौंको चमति, भुईंखेल र बुद्धपार्कमा सञ्चालित मेसको अनुगमन गरिएको हो ।

चमतिमा सञ्चालित मेसमा दैनिक करिब तीनसय जनाले खाना खाने गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिनुभयो । मन्त्री मानन्धरले चमतिमा सञ्चालित मेसमा खाना खान आउनेका लागि ज्वरो मापन गर्नका लागि थर्मल गन उपलब्ध गराएका थिए । थर्मल गन ग्रहण गर्दै चमति ज्यापु समाजका अध्यक्ष पुर्णकाजी ज्यापुले आफुहरुको अभियानमा मन्त्रीले हौसला प्रदान गरेको बताउनु भयो ।

स्वयंभुको भुईंखेलमा भने दैनिक सात सय जनाभन्दा बढीले खाना खाने गरेका छन् । स्थानीय बुद्धिजिवी र सहयोगि विभिन्न संस्थाहरुले खाना खुवाउन आवश्यक प्रवन्ध मिलाउने गरेको आयोजकले जनाएका छन् । भुईंखेलमा अहिलेसम्म २८ हजार भन्दा बढी सर्वसाधारणलाई खाना खुवाइएको आयोजकका अगुवा किरण शाहीले जानकारी दिए । दैनिक रुपमा डेढ सय मुस्लिम परिवारका लागि होम प्याकिङको समेत व्यवस्था मिलाईएको शाहीले बताउनु भयो ।

यस्तै स्वयंभुको बुद्ध पार्कमा पनि दैनिक साढे तीन सय भन्दा बढी सर्वसाधारणलाई खाना खुवाउने गरिएको मनाङ विमन्स समुहले जानकारी दिएको छ । महिलाहरुको अग्रसरतामा विभिन्न सहयोगि दाताहरुको समन्वयमा खाना खुवाईएको हो । अनुगमनका क्रममा मन्त्री मानन्धरले मानव सेवाका लागि दैनिक रुपमा खटिनेहरुको योगदान अमुल्य रहेको बताउनु भयो ।

मन्त्री मानन्धरले विपद्को घडीमा विपन्न तथा कमजोर अवस्थाका नागरिकको रक्षाका लागि सबै नागरिकले आ(आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनु भयो । उपत्यकाका विभिन्न स्थानमा सञ्चालित सामुहीक मेसमा दैनिक पाँचदेखि सात हजारसम्मले खाना खाने गरेका छन् ।