‘भारतबाट मान्छे भित्र्याउन सुरक्षाकर्मी नै सक्रिय’ – Himalayan Dainik

‘भारतबाट मान्छे भित्र्याउन सुरक्षाकर्मी नै सक्रिय’


‘भारतबाट मान्छे भित्र्याउन सुरक्षाकर्मी नै सक्रिय’

राजविराज, २४ वैशाख – मंगलबार बिहान सवा १० बजे । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट तिलाठीका प्रमुख इन्स्पेक्टर राजेश थापा, बेल्ही भन्सारस्थित नेपाल प्रहरी पोस्टका सइ विन्देश्वर यादव र नेपाल प्रहरीका असइ मोटरसाइकल चढेर भारततर्फ गए ।

पछिपछि नेपाली नम्बर प्लेटको निजी कार बोर्डरमा पुग्यो । बोर्डरमा लगाइएको बेरियर नजिक पुग्दा कुनै रोकटोक वा सोधपुछ भएन । कार पुग्नेबितिकै ड्युटीमा रहेका सशस्त्र प्रहरीले बेरिएर खोले ।

कार हुइँकिदै भारत प्रवेश गर्‍यो । केहीबेरमा तीन जना व्यक्ति भारतबाट नेपाल छिरे । कुनै रोकटोक भएन । आधा घण्टापछि उक्त कार फेरि फर्कियो र सहजै नेपाल प्रवेश गर्‍यो । १ घण्टापछि प्रहरीका तीनै जना अघिकै दुइटा मोटरसाइकलमा फर्किए ।

यो दृश्य दैनिकजसो देखिरहेका स्थानीयलाई भने नौलो होइन । ‘बोर्डरमा यस्तै हो, सुरक्षा कमान्डरहरु आफै पारि जान्छन्, किन जान्छन् थाहा छैन तर घण्टौंपछि उताबाट फर्किन्छन्,’ एक स्थानीयले भने, ‘अब त निजी कार पनि सहजै पारि पुगेर फर्किने गरेका छन् ।’

स्थानीय उल्टै प्रश्न गर्छन्, ‘सिमा सिल गरिएको हो भने निजी कारहरु किन भारततर्फ आउजाउ गरिरहेका छन् रु’ सुरक्षा कमान्डरहरुको आउजाउ र उनीहरुको सहयोगमा निजी सवारीसाधन सिधै भारत पुगेर फर्किनुलाई उनीहरुले समेत शंकास्पद रुपमा हेरेका छन् । ‘सर्वसाधारण पारिबाट नेपाल आए सिधा क्वारेन्टाइन बस्नुपर्छ,’ एक स्थानीयले प्रश्न गरे, ‘सुरक्षाकर्मी र उनको सहयोगमा भारत छिरेकाहरुलाई क्वारेन्टाइनमा राख्नुपर्दैन रु’

यसबारे सइ विन्देश्वर यादवसँग बुझ्दा उनले आफू सशस्त्रका इन्स्पेक्टरको आदेशमा पारि गरेको बताए । ‘उता मेरो एरिया पनि होइन तर मभन्दा एक तह माथिल्लो इन्सपेक्टर साबले आदेश दिएपछि म र असइसमेत इन्स्पेक्टर साबसँगै पारि गएका हौं ।’ नेपाल घर भएका एक बिरामी आउँदै छन् भनेर आफूलाई सशस्त्रका इन्स्पेक्टर राजेश थापाले भारततर्फ लगेको र त्यता गएर एसएसबीका अधिकारीसित कुरा गरेर फर्किएको उनले बताए ।

इन्स्पेक्टर थापाले पनि आफूसहित तीन प्रहरी भारततर्फ गएको स्वीकारे । आफूहरुसँगै निजी कार बिरामी लिन गएको उनको भनाइ छ । पछिल्लो समय भारतबाट सर्वसाधारण जोकोही आए पनि एम्बुलेन्समा हालेर क्वारेन्टाइन लग्ने गरिएको छ । भारततर्फ निजी गाडीको आउजाउमा किन जाँच गरिएन भन्ने प्रश्नमा थापाले उक्त गाडीलाई आफूले आउन नभनेको र ड्युटीमा नयाँ प्रहरी भएकाले जाँच नभएको बताए ।

कोरोना संक्रमण भित्रिन नदिन नेपाल सरकारले भारतसँगको सीमा नाका सिल गरे पनि बोर्डरमा रहेका सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले नै यसको उल्लंघन गरिरहेका छन् । उनीहरुकै संरक्षणमा निजी चारचक्के सवारीसाधन भारततर्फ पठाउने र उताबाट भित्र्याउने गरिएको छ । जसले कोरोना संक्रमणको जोखिमलाई अझ बढाएको छ ।

भारतसित सीमा जोडिएको सप्तरीको कुनौली बोर्डरस्थित कोसी बाँध चोकबाट मानिस ओहोरदोहोर गराउने र आफै पनि भारततर्फ गएर फर्किने कार्यमा प्रहरीका अधिकारीहरु सक्रिय भएका हुन् ।

सप्तरी प्रहरीका प्रवक्ता डीएसपी तिलक भारतीले मुटुको बिरामी लिन प्रहरीहरु गएको दाबी गरे । भारत गएर फर्किएका सुरक्षाकर्मीलाई किन क्वारेन्टाइनमा राखिएन भन्ने प्रश्नमा उनले होम क्वारेन्टाइनमा राखिने प्रतिक्रिया दिए । यद्यपि नेपाल प्रहरीका ती सइ र असइ अझै तिलाठीमा डयुटीमै छन् ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले पनि दिल्लीबाट डिस्चार्ज भएका बिरामी ल्याउन सुरक्षाकर्मीहरु गएको दाबी गरेका छन् ।

स्रोतका अनुसार रकमको प्रलोभनमा परी सुरक्षाकर्मीले नै सीमा सिलको उल्लंघन गर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रवक्ता आनन्दकुमार ठाकुरले सीमा सिल भएका कारण कोही पनि नेपाल भारत आउजाउ गर्न नपाउने बताए । कान्तिपुर दैनिकमा छापिएको छ ।