चीनबाट स्वास्थ्य सामग्री ल्याउन सेनाको ढिलाइ – Himalayan Dainik

चीनबाट स्वास्थ्य सामग्री ल्याउन सेनाको ढिलाइ


चीनबाट स्वास्थ्य सामग्री ल्याउन सेनाको ढिलाइ

काठमाडौँ,२४ वैशाख – सरकारले सेनालाई जिटुजीमार्फत शून्य कमिसनमा स्वास्थ्य सामग्री खरिदका लागि १६ चैतमा जिम्मा दिएको थियो । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सिसिएमसी०ले तयार पारेको सूचीअनुसार स्वास्थ्य मन्त्रालयको समन्वयमा चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री र भारतबाट ५३ प्रकारका औषधि किन्ने तय भएको थियो ।

जसअनुसार सेनाले चीनबाट हवाई साधनमार्फत पिपिई, एन–९५ मास्क, पिसिआर टेस्टिङ किट्स, मेसिन, कीटाणुनाशक स्प्रेलगायत तत्काल आवश्यक सामग्री ल्याउने तयारी गरेको थियो । आपूर्तिकर्तासँगको सम्झौताअनुसार दुई लटमा करिब ४० टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने सेनाको तयारी थियो । हवाई उडानबाट २० टन र बाँकी स्वास्थ्य उपकरण र सामग्री तातोपानी नाका हुँदै काठमाडौं ल्याउने सम्झौता गरेको थियो । स्थलमार्गबाट बाँकी सामान ग्वान्जाओबाट तातोपानी नाका हुँदै काठमाडौं ल्याउने सम्झौता छ । ग्वान्जाओबाट काठमाडौंसम्म सामग्री आइपुग्न आउन कम्तीमा दश दिन लाग्ने भएको छ ।

चीनमा लामो सार्वजनिक बिदा, भन्सार जाँचमा ढिलाइलगायत कारण अझै एक साता स्वास्थ्य सामग्री तथा औषधि नआउने सेनाले जनाएको छ । ‘हामीले आपूर्तिकर्तासँग गरेको सम्झौताअनुसार मंगलबार पहिलो उडान हुनुपर्ने थियो, तर चीनमा शुक्रबारदेखि मंगलबारसम्म सार्वजनिक बिदाका कारण सम्भव भएन,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले नयाँ पत्रिकासँग भने, ‘अब सरकारी कार्यालय खुले पनि भन्सार जाँचपास गर्न तीन दिन लाग्ने, त्यसपछि पुनः शनिबार र आइतबार सार्वजनिक बिदा पर्ने हुनाले त्यसपछि भनिएको छ । तर, उडानको मिति अहिले नै तय भएको छैन ।’

सेनाले स्वास्थ्य सामग्री र उपकरण चीनबाट खरिदका लागि सम्झौतासहित साइनो फार्म इन्टरनेसनल कर्पोरेसनलाई ९ वैशाखमा नेपाल राष्ट्र बैंकमार्फत एक करोड ८४ लाख ४१ हजार सात सय ६ अमेरिकी डलर ९करिब सवा दुई अर्ब रुपैयाँ० भुक्तानी दिइसकेको छ । सेनाले ९ वैशाखमै टेन्डर आह्वान गरेर आपूर्तिकर्ता कम्पनीसँग प्रस्ताव मागेको थियो ।

११ वैशाखसम्म प्रस्ताव पेस गरेका ११ कम्पनीमध्ये फ्ल्यास फ्रेटलाई १३ वैशाखमा सेनाले छनोट गरेको थियो । प्रक्रिया मिलाएर सेनाले फ्ल्यास फ्रेटलाई पनि एक साताअघि नै करिब पौने ६ करोड रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको छ । दुई चरणमा हवाईमाध्यमबाट सामग्री ल्याउन शुक्रबार जाने भनिएको नेपाल एयरलाइन्सको जहाज मंगलबार जाने तय थियो, तर अझै एक सातामा पनि जहाज जाने–नजाने टुंगो छैन ।

सेनाले आपूर्तिकर्ता फ्ल्यास फ्रेट कम्पनीलाई नेपाल एयरलाइन्सबाट हुने दुई चार्टर उडानका लागि दुई लाख ७२ हजार पाँच सय अमेरिकी डलर ९करिब सवा तीन करोड रुपैयाँ० तिरेको छ । ग्वान्जाओबाट स्थलमार्गबाट बाँकी सामान ल्याउन दुई करोड ४६ लाख ७६ हजार चार सय रुपैयाँ भुक्तानी दिएको छ ।

चीनले ग्वान्जाओबाट स्वास्थ्य सामग्री विदेशमा निर्यात गरिरहेको छ । सैनिक प्रवक्ता पाण्डेका अनुसार ग्वान्जाओ विमानस्थलमा हवाई ट्राफिकसम्बन्धी नयाँ नियम लागू भएको छ । स्रोतका अनुसार चीनबाट सामान निर्यात गर्ने प्राथमिकता क्रममा नेपाल ८१औँ नम्बरमा छ । प्राथमिकता क्रममा पनि नेपालमा सामान पठाउन हवाई अनुमतिका लागि पर्खिनुपर्ने अवस्था आउने आकलन सेनाले गरेको छ । ग्वान्जाओबाट नजिकको सेन्जेन अन्तर्राष्ट्रिय विमानस्थल करिब ७९ किलोमिटर दूरीमा छ ।

आपूर्तिकर्ता कम्पनीले विक्रेता कम्पनीसँग सेन्जेन विमानस्थलबाट नेपालमा सामग्री पठाउने विकल्पमा पनि कुराकानी गरिरहेको छ । दुवै विमानस्थल चीनको ग्वान्दोंग प्रान्तमा छन् ।नयाँ पत्रिका दैनिकि