ज्योति लाईफ इन्स्योरेन्सको सिइओमा खत्री नियुक्त – Himalayan Dainik

ज्योति लाईफ इन्स्योरेन्सको सिइओमा खत्री नियुक्त


ज्योति लाईफ इन्स्योरेन्सको सिइओमा खत्री नियुक्त

काठमाडौँ, २१ वैशाख – ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश विक्रम खत्री नियुक्त हुनु भएको छ ।

संचालक समितिको वैठकले आजदेखी लागु हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि नै निजलाइ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न स्वीकृतीको लागि नियामक निकाय बीमा समितिमा पठाइएकोमा बीमा समितिबाट मिति १७ गतेको पत्रबाट स्वीकृती प्राप्त भएकोले सोही बमोजिम संचालक समितिले नियुक्त गरेको हो ।

ज्योति लाईफ इन्स्योरेन्सको स्थापनादेखि नै कार्यकारी उपप्रमुखको रुपमा कम्पनीको व्यवस्थापनको नेतृत्व गर्दै कम्पनीले व्यवसाय शुभारम्भ गरेको करिब ३ वर्षको अवधिमा नै नेपाली जीवन बीमा बजारमा आकर्षक तथा नयाँ नयाँ विशेषता सहितका बीमा योजना जारी गरी शाखा विस्तार, व्यवसाय बृद्धि तथा नाफा आर्जनमा उल्लेख्य सफलता हासिल गर्दै ज्योति लाईफको अलग्गै पहिचान बनाइ कम्पनीको बलियो आधार स्तम्भ तयार गरि अग्रपंक्तिमा आउन सफल भएको छ ।

विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका बैंकिंङ्ग, बीमा तथा अन्य कम्पनीहरुमा विभिन्न पदमा रही लामो कार्यअनुभव हासिल गर्नु भएका खत्रीले बेलायतको सबै भन्दा ठूलो बैंकमा गनिने बार्कलेज बैंकबाट आफ्नो पेशागत यात्रा शुरु गर्नुभएको थियो । बार्कलेज बैंकमा आकर्षक पद तथा वित्तीय सुविधा हुँदा पनि आफ्नै देशमा आएर केहि गर्ने सोचका साथ नेपाल फर्किएर लक्ष्मी बैंकमा करिब आधा दशक विताए पछि एनआईसी एसिया बैंक तथा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सञ्चालकको रुपमा समेत अनुभव हासिल गर्नुभएकोे थियो ।

व्यवस्थापन तथा प्रविधिको क्षेत्रमा विशेष दखल भएका श्री खत्रीको प्राथमिकता सहभागितामुलक तथा सामुहिक कार्यको अवधारणा, संस्थागत शुसाशन, ग्राहकमैत्री सेवा, वित्तीय पारदर्शिता रहेको छ । कम्पनीको स्थापनादेखि कार्यकारी उपप्रमुखको रुपमा सफल नेतृत्व प्रदान गरिरहनुभएको खत्रीलाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न पाएकोमा हर्षित हुँदै कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना दिनु भयो ।

नव नियुक्त प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई केहि वर्ष भित्रमा नेपालीहरुको पहिलो रोजाइको जीवन बीमा कम्पनी बनाउन आगामि दिनमा अझ बढी सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै बीमा समिति, संचालक समिति, अभिकर्ताहरु, कर्मचारीहरु लगायत सम्बन्धीत सबैलाइ हार्दिक धन्यवाद दिंदै निरन्तर सहयोगको लागि हार्दिक आग्रह गर्नुभयो ।