काठमाडौँ, १९ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि विकास र समृद्धिको यात्रामा श्रमिक वर्गको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
अन्तराष्टि«य श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै सम्पूर्ण श्रमजीवीको श्रम अधिकार सुनिश्चितताका लागि शुभकामना दिनुभएको हो ।
शुभकामना सन्देशमा उहाँले मुलुकमा पूर्णलोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पुर्याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
सन्देशमा भनिएको छ, ‘श्रमिकहरूको हकअधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखमा विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’ मनाउने गरिन्छ । यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने अपेक्षा मैले लिएको छु ।”
नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको छ ।
सन्देशमा भनिएको छ, “मुलुकमा न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा यसबाट श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास मैले लिएको छु । प्राकृतिक स्रोत तथा सम्पदामा सम्पन्न हाम्रो मुलुकमा विकासको ठूलो संभावना भएकाले यसलाई साकार तुल्याउन श्रमको व्यापक आवश्यकता पर्दछ, यसका लागि सबैले श्रम गर्ने अवसरसहित सामाजिक आर्थिक समुन्नति हासिल गर्न सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने तर्फ सम्बद्ध सबैको ध्यान आकृष्ट गराउन चाहन्छु ।”
सन्देशमा भनिएको छ, “नोभेल कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण इतिहास कै कठिन मोडमा उभिएका छौँ, मानव जातिका विरुद्ध आइलागेको यस विषम परिस्थितिमा धैर्य र संयमताका साथै एकताबद्ध भएर यस महामारी विरूद्धको लडाइँमा विजय हासिल गर्नुछ, महामारीले विश्वलाई नै आक्रान्त पारेको वर्तमान परिवेशमा सामान्य जनजीवन र अर्थतन्त्रमा प्रतिकूलता ल्याएकाले यसलाई मध्यनजर गर्दै सरकारका आगामी नीति तथा कार्यक्रम अघि बढ्ने र यसबाट श्रमिकहरूको जीवन पनि सामान्य अवस्थामा फर्किने आशा लिएको छु ।”