नेपालमा ५८ हजारको कोरोना परीक्षण, नयाँ संक्रमित फेला परेनन् – Himalayan Dainik

नेपालमा ५८ हजारको कोरोना परीक्षण, नयाँ संक्रमित फेला परेनन्


नेपालमा ५८ हजारको कोरोना परीक्षण, नयाँ संक्रमित फेला परेनन्

काठमाडौँ, १८ वैशाख – नेपालमा आज कोरोना भाइरसका नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणको ५८ हजार वटा परीक्षण गरिएको छ भने जसमध्ये ४६ हजार ८ सय ६० वटा परीक्षण र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको हो र प्रयोगशालामा १२ हजार ११ वटा गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार ९ सय ८५, प्रदेश २ मा ५ हजार ४ सय ५६, बागमती प्रदेशमा ८ हजार ३ सय ६१ नमुना परीक्षण भएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ३ हजार ७ सय ९, कर्णाली प्रदेशमा ५ हजार ४ सय ३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ वटा आरडिटी विधिबाट कोरोना एन्टीबडी परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

हालसम्म नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसमध्ये १६ जना निको भई घर फर्किसकेका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै विराटनगरको कोशी अस्पतालमा ३१ जना उपचाररत छन् । त्यसैगरी वीरगञ्जमा ८ र भरतपुर तथा कैलालीमा १—१ जना उपचाररत रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अहिले देशभर गरी २३ हजार हजार ३ सय ३६ जना क्वारेन्टाइनस्थलमा छन् । उपत्यकामा ३ र उपत्यका बाहिरका अस्पतालमा ७७ गरी ८० जना आइसोलेसनमा रहेका छन् ।