सरकार गठन-विघटनमा कांग्रेस सहभागी नहुने – Himalayan Dainik

सरकार गठन-विघटनमा कांग्रेस सहभागी नहुने


सरकार गठन-विघटनमा कांग्रेस सहभागी नहुने

काठमाडौँ, १८ वैशाख – सत्तारुढ दल नेकपाभित्र विवाद चर्किरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको वैधानिकतामाथि प्रश्न उठाएको छ। उसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए पनि प्रधानमन्त्रीको राजीनामा भने मागेको छैन । सरकार गठनकै बेलादेखि निरन्तर संविधानमाथि प्रहार भइरहेको भन्दै कांग्रेसले अध्यादेशले त सरकारले वैधानिकता गुमाएको दाबी गरेको छ ।

पछिल्लो राजनीतिक विकासक्रम र कोरोना भाइरसबारे छलफल गर्न बुधबार केन्द्रीयसमिति बैठक बसेको थियो । बैठकले सरकार सञ्चालनको वैधानिक र नैतिक आधार गुमाएको निष्कर्ष निकालेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित अधिकांश केन्द्रीय सदस्यले प्रधानमन्त्रीको कार्यशैलीको आलोचना गरेका थिए ।

सभापति देउवाले कोरोना भाइरस नियन्त्रण गर्न सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको बताए । कोरोना संक्रमणको लामो समय बिते पनि स्वास्थ्यकर्मी अत्यावश्यक स्वास्थ्य उपकरणबिनै जोखिम मोलेर काम गर्न बाध्य भएको उनको भनाइ थियो ।

‘लकडाउन लम्ब्याउने कामबाहेक सरकारले कोरोना रोकथाम गर्न कुनै उल्लेख्य गरेको छैन’, उनले भने, ‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल गिराउने काम सरकारबाट भइरहेको छ । अहिलेसम्म राहतका कार्यक्रम ल्याएको छैन ।’

कोरोना महामारीविरुद्ध लड्नुपर्ने बेला सरकार संविधानको मर्मविपरीत हुने गरी दल विभाजन र प्रतिपक्षीको भूमिकालाई कमजोर बनाउने काममा सक्रिय भएको आरोप नेताहरूले लगाएका थिए। उनीहरूले राष्ट्रपतिको भूमिकालाई लिएर पनि आपत्ति जनाएका थिए ।

‘एकातिर त्यस्ता अध्यादेश जारी गर्ने, त्यससँगै अर्काको पार्टी तोड्न सांसद अपहरण गर्न बाहुबलीहरु खटाउने र लकडाउनमा जनकपुरको गाउँमा बसिरहेको सांसदलाई आस, त्रास देखाउँदै काठमाडौंं ल्याउने कार्य गर्नु रक्षक नै भक्षक बनेको हो कि होइन ? ’, वरिष्ठ नेता पौडेलले भने, ‘संविधानका संरक्षक राष्ट्रपति नै धृतराष्ट्र बनेपछि हस्तिनापुरको संरक्षण कसले गर्ला ? ’

उनले स्वास्थ्य उपकरण खरिदमा भएको अनियमितता, गाउँ फर्किन नपाएर अलपत्र परेका नागरिकका समस्यादेखि राहत नपाएको विषयमा लिखित धारणा राखेका थिए । उनले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी समूहसँग भएको सम्झौतामा अनियमितता देखिएपछि हतारमा ठेक्का रद्ध गरेको दाबी गरे । खगेन्द्र भण्डारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।