बेइजिङमा कोरोना विशेष अस्पताल बन्द – Himalayan Dainik

बेइजिङमा कोरोना विशेष अस्पताल बन्द


बेइजिङमा कोरोना विशेष अस्पताल बन्द

एजेन्सी, १६ वैशाख – चीनको बेइजिङमा कोभिड-१९ विशेष अस्पताल बन्द हुने भएको छ। कोभिड-१९ का सबै बिरामी निको भई फर्केपछि उक्त विशेष अस्पताल बन्द गरिने भएको हो।

चीनमा मङ्‍गलबार भने ६ जनामा नयाँ सङ्क्रमण देखिएको र ४० जनामा लक्षणविहीन सङ्क्रमण देखिएको त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन्। यसअघि चीनको कोरोना इपिसेन्टर मानिएको उहान सहरले १६ अस्थायी अस्पताल बन्द गरेको थियो भने आइतबार अस्पतालकै अन्तिम कोभिड-१९ बिरामीलाई फर्काएको थियो।

बन्द हुन लागेको बेइजिङको उक्त सियोओताङशान अस्पताल सन् २००३ मा सार्सका बिरामीका लागि प्रयोगमा ल्याइएको थियो। बुधबारबाट उक्त अस्पताल बन्द हुने जनाइएको छ। बेइजिङमा ५९३ जनामा कोरोना सङ्क्रमण रहेको थियो भने ९ जनाको मृत्यु भएको थियो। हालसम्म सङ्क्रमितमध्ये ५ सय ३६ जना बिरामी पूर्णतः निको भइसकेका छन्।

चीनमा हालसम्म कोरोनाबाट ८२ हजार ८ सय ३६ सङ्क्रमित भएका छन् भने ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाइसकेका छन्।