अमेरिकामा मृतकको संख्या ५५ हजार नाघ्यो, विश्वभर २ लाख ६ हजारको मृत्यु – Himalayan Dainik

अमेरिकामा मृतकको संख्या ५५ हजार नाघ्यो, विश्वभर २ लाख ६ हजारको मृत्यु


अमेरिकामा मृतकको संख्या ५५ हजार नाघ्यो, विश्वभर २ लाख ६ हजारको मृत्यु

काठमाडौं, १५ वैशाख – काेरोना भाइरसबाट हालसम्म अमेरिकामा ५५ हजार ४ सय १३ जनाको मृत्यु भएको छ भने ९ लाख ८७ हजार १ सय ६० जना संक्रमित भएका छन् । अमेरिकामा गत २४ घन्टामा १ हजार १ सय ५७ जनाको मृत्यु भएको छ । यो संख्या तीन साता अघिदेखिको संख्यामा सबैभन्दा कम रहेको जनाइएको छ ।

पछिल्ला दिनमा विश्वभर नै कोरोनाको संक्रमण र मृतकको संख्या केही घट्न थालेको तथ्यांक सार्वजनिक भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या घटेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ५१ जनाको मृत्यु भएको जनाइएको छ । हालसम्म विश्वभर मृतक संख्या २ लाख ६ हजार ९ सय ७३ पुगेको छ । त्यस्तै संक्रमितको संख्या २९ लाख ९३ हजार २ सय ६३ पुगेको छ । गत २४ घन्टामा मात्र ७३ हजार ८ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै इटालीमा हालसम्म २६ हजार ६ सय ४४ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा २३ हजार १ सय ९० र फ्रान्समा २२ हजार ८ सय ५६ को मृत्यु भइसकेको छ । पछिल्ला दिनमा यी देशहरुमा तुलनात्मक रुपमा मृत्युदर घटेको पाइएको छ ।

छिमेकी मुलुक भारतमा हालसम्म २७ हजार ८ सय ९० जना संक्रमित देखिएका छन् र ८ सय ८१ जनाले ज्यान गुमाएका छन् ।