प्रारम्भ र गायिका आनीद्धारा शुक्रराज र गणेशमान अस्पताललाई पीपीई हस्तान्तरण – Himalayan Dainik

प्रारम्भ र गायिका आनीद्धारा शुक्रराज र गणेशमान अस्पताललाई पीपीई हस्तान्तरण


प्रारम्भ र गायिका आनीद्धारा शुक्रराज र गणेशमान अस्पताललाई पीपीई हस्तान्तरण

काठमाडौँ,१२ वैशाख – प्रारम्भ सामाजिक संस्था र गायिका आनी छोयिंग डोल्माले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका लागि २५ थान पीपीई सेट उपलब्ध गराएका छन् ।

प्रारम्भका अध्यक्ष कल्पना क्षेत्री तथा आनी छोयिंग डोल्मा फ़ाउन्डेशनका अध्यक्ष समेत रहेकी गायिका डोल्मा तथा प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले शुक्रराज ट्रपिकलका निर्देशक डा सागर राजभण्डारीलाई बिहीबार उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

बिहिबार नै उनीहरुले ललितपुरस्थित गणेशमान सिंह अस्पतालका लागि पनि १० थान पीपीई सेट सहयोग गरेको  छन् । गणेशमान सिंह अस्पताल ललितपुर महानगरपालिकाले आइसोलेशन तथा क्वारेन्टाइनका लागि छनौट गरेको अस्पताल हो । विभिन्न स्थानीय तह र अस्पतालहरु संगको समन्वयमा सहयोग गरिरहेको प्रारम्भले उपलब्ध गराएका सामग्रीमा पीपीइ ड्रेस, एन-९५ मास्क, ग्लब्स, गमबुट, फेसशिल्ड, सर्जिकल मास्क तथा ह्यान्ड सानी टाइजर छन।

प्रारम्भले हालसम्म शुक्रराज ट्रपिकल तथा गणेशमान सिंह अस्पतालका अलावा त्रीबी शिक्षण अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल, बनेपा अस्पताल, पाटन अस्पताल तथा शिर मेमोरियल अस्पतालका लागि अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिसकेको छ ।

प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाका अनुसार संस्थाले पहिलो चरण राजधानी र आसपासका अस्पतालमा सामग्री उपलब्ध गराउदै दोश्रो चरणमा आनी छोयिंग डोल्मा फ़ाउण्डेशन संगको सहकार्यमा परोपकारी कार्य गरिरहेको हो ।

दुई संस्थाको संयोजनपछि दैलेख जिल्लाका सबै स्थानीय तहका लागि स्वास्थ्य सामग्री पठाइएको र आफुले सकेको मद्दत गर्न फिल्डमा आएको गायिका आनी छोइङ्ले बताइन् ।