विश्वभर काेराेनाबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार नाघ्याे – Himalayan Dainik

विश्वभर काेराेनाबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार नाघ्याे


विश्वभर काेराेनाबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार नाघ्याे

एजेन्सी, १२ वैशाख – विश्वभर कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेकाे छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४९९ पुगेको छ । संक्रमण हुनेको संख्या भने २७ लाख १६ हजार ३८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर साढे ६ हजारभन्दा बढीकाे मृत्यु भएकाे छ भने ८५ हजार जना नयाँ संक्रमित थपिएका छन् । सङ्क्रमितमध्ये ७ लाख ४५ हजार ३४३ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १७ लाख ८० हजार ५४६ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५८ हजार ६७८ जनाको अवस्था भने गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा ४९ हजार ८४५ सय बढीको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २३ सय बढीको मृत्यु भएको छ भने ३१ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।

इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २५ हजार ५४९ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ९० हजार कोरोनाबाट संक्रमित भएका छन् । स्पेनमा इटालीमा भन्दा पनि बढी संक्रमित छन् । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख १३ हजार नाघिसकेकाे छ । स्पेनमा कोरोनाका कारण २२ हजार १५७ ले ज्यान गुमाएका छन् ।

त्यस्तै फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ५८ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २१ हजार ८५६ पुगेको छ । बिहीबार मात्रै फ्रन्समा ५१६ जनाको मृत्यु भएको छ भने साढे २ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । संक्रिमतमध्ये ४२ हजार बढी पूर्णरूपमा निको भइसकेका छन् । यता जर्मनीको अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ । मृत्यु हुनेको संख्या भने ५ हजार ५७५ पुगेको छ । बिहीबार मात्रै त्यहाँ २६० जनाको मृत्यु भएको छ भने साढे २ हजार नयाँ संक्रमित भेटिएका छन् ।

त्यस्तै बेलायमा कोरोनाका कारणा १८ हजार ७३८ जनाको ज्यान गइसकेके छ भने संक्रमितकाे संख्या १ लाख ३८ हजार ७८ पुगेकाे छ । यता टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख नाघेकाे छ । अहिलेसम्म त्यहाँ २ हजार ४९१ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये १८ हजार ४९० जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ८० हजार ८०८ जनामा काेराेना सक्रिय रहेकाे छ ।

इरानमा अहिलेसम्म काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ५ हजार ४८१ पुगेकाे छ । अहिलेसम्म त्यहाँ साढे ८७ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये ६४ हजार ८ सय बढी निकाे भएका छन् ।