अर्वपति संचार गृहहरूलाई पत्रकार महासंघको चेतावनी – Himalayan Dainik

अर्वपति संचार गृहहरूलाई पत्रकार महासंघको चेतावनी


अर्वपति संचार गृहहरूलाई पत्रकार महासंघको चेतावनी

काठमाडौं, १० वैशाख – अहिले विश्व नै कोरोना भाइरसको महासंकट व्यहोरिरहेको अवस्थामा छ । विश्वभरका पत्रकारहरू ज्यानलाई जोखिममा पारेर काम गरिरहेका छन् ।

भारतमा फिल्डमा काम गर्ने ५५ जना पत्रकारहरू एकैदिनमा कोरोना सक्रमित भएर जीवन बचाउन संघर्ष गरिरहेका छ्न् । यस्तो महासंकटको बेलामा नेपालका अर्बपति भनिएका, मानिएका संचार गृहहरूले दुई दशकदेखि पसिना बगाएर सेवा दिइरहेका आआफ्ना संचार माध्यमहरूमा कार्यरत पत्रकारहरूलाई बिना तलब निश्काशन गर्ने, प्रकाशन बन्द गर्ने र बेतली बिदामा बस्न सूचना जारी गरिरहेका छन् ।

महासंकटको एक महिनाको पनि पाल्न नसक्ने यी अर्बपति कहलिएका संचार गृहका मालिकहरू पत्रकारिता गर्छन् कि कमाउ धन्दा चलाउछन् भन्ने प्रश्न पनि पीडित श्रमजीवी पत्रकारहरूको रहेको छ ।

अर्बपति भनिएका र मानिएका समाजमा हाउगुजी बन्दै आएका दुइ अबर्पति संचार गृह कान्तिपुर मिडिया ग्रुप र रिपब्लिका मिडिया प्रा.लि.बाट नै श्रमजीवी पत्रकारहरू बढी पीडित भएको कुरा नेपाल पत्रकार महासंघले औपचारिकरूपमै बताएको छ । नेपाल पत्रकार महासंघका अनुसार, विनोद ज्ञवालीको रिपब्लिका मिडिया प्रालिले ६ महिनादेखि तलब पाएका छैनन् ।

कान्तिपुरलगायतका सञ्चारगृहले पत्रकार कर्मचारी कटौति गर्न सूचना, पत्र, फोनमार्फत दवाव दिंदै आएको भन्दै विरोध गरेको छ । पत्रकार महासंघले तुरुन्त पारिश्रमिक दिलाउन दवाव दिन र कोरोनाको बहानामा पत्रकार निष्काशन अभियान रोक्न प्रेस रजिस्टार तथा सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्माको गम्भीर ध्यानाकर्षण गराएको छ ।

‘मिडिया मालिकहरुले पारिश्रमिक नदिई, निष्कासन गर्ने कार्य तत्काल नरोकिए जोखिमका बेला पनि कालो ब्यानर टाँगेर नेपाल पत्रकार महासंघलाई धर्नामा बस्न बाध्य नपारियोस् ।’ भन्ने चेतावनी सहित २०७७ वैशाख ९ गते ज्ञापन पत्र दिएको छ ।

कान्तिपुरमा लामो समय पसिना बगाएर केही महिना अघि मात्र केएमजीबाट बाहिरिएका युवा पत्रकार बालकृष्ण बस्नेत (सल्लाहकार सम्पादक) समूहले संचालन गरेको खुला नेपालको २०७७ वैशाख ९ गतेको समाचार अनुसार, केएमजी (कान्तिपुर पब्लिकेसन्स)बाट हटाउने अभियान सुरू भएको छ र यो कम वैशाख १० गते र ११ गतेसम्म जारी रहने छ।

केएमजी बारे खुला नेपालको समाचार
कोरोना कारण देखाउँदै कान्तिपुर पब्लिकेसन्सले आफ्ना पत्रकार र कर्मचारीलाई बेतलबीमा बस्न सूचना दिने क्रमलाई २०७७ वैशाख ९ गते मंगलबार पनि निरन्तरता दिएको छ । र, यो क्रम २०७७ वैशाख १० गते बुधवार र वैशाख ११ गते बिहीवारसमेत जारी हुने कान्तिपुर स्रोतले जानकारी दिएको छ । २०७७ वैशाख ९ गते मंगलबार बढी काठमाडौं बाहिरका पत्रकारलाई बेतलबी विदामा बस्न भनिएको थियो ।

त्यसरी सूचना गरिएकामा प्रदेश १ बाट डम्बरसिंह राई, रमेशचन्द्र अधिकारीसहित ४ जना, प्रदेश २ बाट शंकर आचार्य, श्याम सुन्दर शशी र शाहीमान राई, प्रदेश ३ (बाग्मती)बाट कृष्ण थापा, राजेन्द्र मानन्धर, टीका भट्टलगायत छन् ।

त्यस्तै गण्डकी प्रदेशबाट प्रकाश बराल, नारायण शर्मासहित ६ जना, प्रदेश ५ बाट वीरेन्द्र केसी, काशिराम डाँगीसहित ४ जना, कर्णाली प्रदेशबाट भीमबहादुर सिंह, विप्लब महर्जनसहित ३ जना छन् ।

सुदूरपश्चिममा कोरोनाको बढी संक्रमण देखिएकाले त्यहाँ पहिलो चरणको सूचीमा बेतलबीमा नराखिएको दावी स्रोतको छ । काठमाडौं, थापाथलीस्थित मुख्यालयमा रहेकामा थप टेलिफोन गएकाहरुमध्ये यदु पोख्रेल, जैतुन रिखाम, चन्द्र कुँवर, दामोदर न्यौपानेसहित २४ जना छन् ।

पहिलो चरणकै सूचीमा रहेका अतुल मिश्र, ऋषिराम पौडेल, टीकाराम तामाङ, कुलचन्द्र न्यौपानेहरुलाई भने सूचना पुगिनसकेको थाहा भएको छ ।

नेपाल पुरै बेतलबीभित्र

कान्तिपुरकै सहप्रकासन नेपाल साप्ताहिकमा कार्यरत लगभग पुरै पत्रकार कर्मचारीलाई बेतलबीमा राख्ने तयारी भइरहेको दावी स्रोतको छ । उक्त पत्रिका हाल प्रकाशनमा समेत छैन । प्रशासन, लेखा, प्रेस, मार्केटिंगलगायत शाखामा एक चौथाई मात्र कर्मचारी राख्ने गरी तयारी भइरहेको छ ।

कान्तिपुरले कोरोनाका कारण आर्थिक संकट देखाउँदै पत्रकार, कर्मचारीलाई यसरी विदामा बस्न आग्रह गर्दै सहयोग मागेको हो । तर, पत्रकारहरुले भने आफूहरुमाथि पूर्वाग्रही ढंगले व्यवहार गरेको, संकटको बेला भेदभाव गरी हातमुख जोड्ने बाटो बन्द गरेको भन्दै विरोध गरेका छन् । यो विषय युनियन र सम्बद्ध संगठनहरुमा समेत पुगेको बताइन्छ ।

संकट नै परे अन्य विकल्पबारे सोच्दा पनि नसोची पुरै तलब नदिने रणनीति ठीक नभएको भन्दै कर्मचारी, पत्रकार आक्रोशित र भयभित बनेका छन् । -साँघुन्यूज