कोरोना परीक्षण नमूना लैजाँदै गरेका युवकको गोली हानी हत्या – Himalayan Dainik

कोरोना परीक्षण नमूना लैजाँदै गरेका युवकको गोली हानी हत्या


कोरोना परीक्षण नमूना लैजाँदै गरेका युवकको गोली हानी हत्या

काठमाडौँ, ९ वैशाख । कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालातर्फ गइरहेका एक सवारी चालकको म्यानमारमा गोली हानी हत्या भएको छ ।

म्यानमारको पश्चिमी प्रान्त रखाइनबाट स्वाब बाेकेर याङ्गुनतर्फ गइरहेका युवकको गोली हानी हत्या भएको हो । संयुक्त राष्ट्रसंघका अनुसार, विश्व स्वास्थ्य संगठनको गाडीमा स्वाब परीक्षणका लागि यान्गुन लैजाँदै गर्दा गोली प्रहार भएको हो । गोली हानी हत्या गरिएका गाडी चालक २८ वर्षका प्याए सोन विन माउङ रहेको जनाइएको छ ।

हत्या गरिएका ती युवक विगत तीन वर्षदेखि (डब्ल्यूएचओ) का लागि काम गर्दै आएका थिए । आक्रमणमा एक स्वास्थ्यकर्मी पनि घाइते भएका छन् । उनको अहिले उपचार भइरहेको बताइएको छ ।

अहिलेसम्म म्यानमारमा एक सय १९ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने पाँचजनाको यसबाट मृत्यु भइसकेको छ ।

यो क्षेत्रमा सरकारी सेना र अराकन चरमपन्थीबीच युद्ध जारी छ । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पक्षले पनि लिएका छैनन् । उनीहरु एकले अर्कोलाई आरोप प्रत्यारोप गरिरहेका छन् । रोर्यटस