काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को परीक्षण गराउनेको संख्या बढ्दै – Himalayan Dainik

काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को परीक्षण गराउनेको संख्या बढ्दै


काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को परीक्षण गराउनेको संख्या बढ्दै

काठमाडौं,९ वैशाख –  सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षणलाई तीव्रता दिएसँगै काठमाडौँ महानगरपालिकामा परीक्षण गराउनेहरु बढ्न थालेका छन् । यसबाट कोरोनाविरुद्ध सबैजना सचेत भएको र त्रासकाबीच आत्मविश्वास बढेको देखिएको छ । केही दिनअघि काठमाडौँकै सनसिटी अपार्टमेन्टमा बसेकामा कोरोना पोजेटिभ देखिएसँगै परीक्षण बढाइएको महानगरले जनाएको छ ।

पछिल्ला केही दिनमा कोरोनाका बिरामीहरु धमाधम स्वथ्य भई डिस्चार्ज भएकोले सबैमा अस्पतालप्रति विश्वास बढेकोले आफूले पनि परिक्षण गर्न आएको एक व्यक्तिले  बताए । उनले भने, ‘कोरोना लागेका बिरामी स्वस्थ्य नै हुँदा रहेछन्, यो खासै ठूलो रोग होइन रहेछ कि क्यारे भन्दै मेरो घरमा पनि एक सदस्य बाहिरबाट आएका थिए, उनको नेगेटिभ नै आए पनि उनीसँगको सम्पर्कमा रहेको हुनाले म पनि चेक गर्न आएको हुँ ।’

कामपामा गत बुधबारदेखि शुरु भएको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी( मा अहिलेसम्म ८०८ जनाले परीक्षण गराएकामा ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । कूल ३२ वडा रहेको कामपामा हालसम्मा २५ वटा वडाका शङ्कास्पद व्यक्तिको परीक्षण भएको छ । विदेशबाट फर्किएर यहाँ बसोबास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाको पनि परीक्षण शुरु भएको छ ।

परीक्षणको क्रममा कोही छुटेका हुन सक्ने र त्यस्तो जानकारी भएमा सम्बन्धित वडा कार्यालय वा नजिकको प्रहरीमा खबर गर्न कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आग्रह गरे ।

कामपा शहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यका अनुसार सोमबार मात्रै वडा नं. ६, ७, ८ र ९ का १६८ जनाको परीक्षण गरिएको र अब वडा नं. १, २ ३, ११, २८, २९ र ३० वडाको परीक्षण बाँकी छ ।

महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले गत फागुन १८ पछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका ३ सय २१ जनाको विवरण सङ्कलन भएको बताए । उनीहरूलाइ पनि छिटै परिक्षणका लागि महानगरले अनुरोध गरेको पनि उनले बताए । – माइन्यूज नेपाल