राष्ट्रपति भण्डारीद्वारा नयाँ गाडी किन्‍ने पैसा सरकारी कोषमै फिर्ता – Himalayan Dainik

राष्ट्रपति भण्डारीद्वारा नयाँ गाडी किन्‍ने पैसा सरकारी कोषमै फिर्ता


राष्ट्रपति भण्डारीद्वारा नयाँ गाडी किन्‍ने पैसा सरकारी कोषमै फिर्ता

काठमाडौँ, ७ वैशाख – राष्ट्रपति विद्या भण्डारीले आफ्ना लागि सुविधा सम्पन्न इलेक्ट्रिक गाडी खरिदका लागि विनियोजित रकम सरकारको सञ्चित कोषमा फिर्ता गरेकी छन् । कोभिड–१९ को महामारीका कारण उत्पन्न विशेष परिस्थितिमा आफ्ना लागि गाडी खरिद गर्नु उपयुक्त नहुने विश्लेषण गरी उनले रकम फिर्ता गरेकी हुन् ।

राष्ट्रपति कार्यालय भण्डारीका लागि ६५ लाख रुपैयाँ (भन्सार राजस्वबाहेक)मा लामो भीभीआईपी इलेक्ट्रिक गाडी खरिद गर्ने अन्तिम तयारीमा थियो । राष्ट्रपति भण्डारीले चढ्दै आएका सुविधासम्पन्न गाडी पुराना भइसकेका छन् ।

अरू गाडी पुराना भएकाले भण्डारीले दुई वर्षअघि खरिद गरिएको बीवाईडी इलेक्ट्रिक कार चढ्दै आएकी छन् । उक्त कार एकपटक चार्ज गरेपछि १ सय ५० किलोमिटर गुड्छ । राष्ट्रिपति कार्यालयले एकपटक चार्ज गरेपछि ४ सय ५० किमि गुड्ने त्योभन्दा आधुनिक र सुविधासम्पन्न कार किन्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको थियो ।

भण्डारीका लागि नयाँ कार आएपछि पुरानो इलेक्ट्रिक गाडी राष्ट्रपति कार्यालयका अरू एक पदाधिकारीलाई दिने निर्णय भइसकेको थियो ।

राष्ट्रिपति कार्यालयका सचिव र सहसचिवलगायतका लागि अरू ५ वटा इलेक्ट्रिक कार खरिद गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको थियो । ती गाडी पनि एकपटक चार्ज गरिसकेपछि ४ सय ५० किमि गुड्ने क्षमताका हुन् । राष्ट्रपति कार्यालयका सचिव र सहसचिवका गाडीसमेत पुराना भएकाले मर्मतसम्भार खर्च धेरै पर्न थालेकाले नयाँ खरिद गर्न लागिएको दाबी स्रोतको छ ।

राष्ट्रिपति कार्यालयले सार्वजनिक खरिद ऐनको प्रक्रिया पूरा गरी करिब ५ करोड रुपैयाँमा ६ वटा कार र चार्जिङ स्टेसनका लागि उपकरण किन्न लागेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।