बैंकको ब्याज घटाउन व्यवसायीको माग, कस्ले के भने ? – Himalayan Dainik

बैंकको ब्याज घटाउन व्यवसायीको माग, कस्ले के भने ?


बैंकको ब्याज घटाउन व्यवसायीको माग, कस्ले के भने ?

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले यो बेला उद्योगी व्यवसायीले कसरी नाफा कमाउने भन्दा पनि आफ्नो व्यवसायलाई कसरी निरन्तरता दिने विषयमा चिन्ता रहेको बताएकी छिन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘कोरोनाको महामारीबाट निजी क्षेत्रमा प्रभाव र आगामी कदमहरु’ विषयमा भिडियो कन्फ्रेन्समा उनले यस्तो बताएकी हुन ।

यो समयमा उद्योग व्यवसाय चलाएर कसरी नाफा कमाउने भन्दा पनि आगामी दिनमा आफ्नो उद्योगलाई कसरी सञ्चालन गर्ने, राज्य र जनतालाई कसरी सहयोग गर्ने भन्ने विषयले चिन्ता लाग्न लागेको बताइन् । उनले कोरोनाका कारण परेको समस्या समाधानको लागि सबै नीजि क्षेत्र एक ठाँउमा उभिन आवश्यक रहेको बताइन् ।

उनले भनिन् ‘अर्थतन्त्रलाई कसरी चलाउने भन्ने विषयमा सरकार तथा सरोकारवाला नियकासँग छलफल चलिरहेको छ । सरकारबाट नीजि क्षेत्रले राहत चाहेको छ, त्यो राहतले राज्य, जनता, उद्योगी, व्यवसायी कसैको पनि अहित नहोस ।’सरकारले उद्योगीलाई राहत दिँँदा त्यसकोे असर जनतामा पनि पर्न नहुने तर्क गरिन ।

अहिले पर्यटन व्यवसाय लगायतलाई समस्या रहेको भन्दै यसलाई कसरी सहज बनाउने भन्ने विषयमा सबैको ध्यान जान आवश्यक रहेको उनको तर्क छ । उनले भनिन् ‘यो विषयमा अर्थमन्त्रीलाई पनि कुरा गरेका छौं । सरकारले उद्योग छुटयाएर रि-फाइनान्स वा अन्य व्यवस्था गर्न आवश्यक छ । व्यवसायको प्रकृति छुटयाउन आवश्यक छ, त्यही अनुसार प्याकेज चाहिन्छ ।’

भिडियो कन्फ्रेन्समा अध्यक्ष राणाले श्रमिकलाई घरबाट परिवारले बाहिन जान नदिने बाहिर निस्केपनि बाटोमा हुने अवरोधका कारण समस्या भएको उनको भनाई छ । यसका लागि जिल्लाका संघहरुसँग समन्वय भइरहेको उनको तर्कछ । आगामी दिनमा विदेशमा भएका नेपालीहरु नेपालमा आउने र बेरोजगारी बढने सम्भावना रहेको भन्दै आगामी आर्थिक वर्षको बजेट पनि त्यसतर्फ नै केन्द्रित हुनुपर्ने उनको तर्क छ ।

आगामी आवमा उत्पादन मुलक क्षेत्रमा फोकस हुनुपर्ने र बजेटले अबको ५, १० वर्षमा आफु कसरी अघि बढने भनेर ध्यान दिन आवश्यक रहेको उनको तर्क छ । यतिबेला नीजिक्षेत्रले उदारता देखाएको र सरकारले पनि उदारता देखाउन अपेक्षा रहेको उनको तर्क छ । उनले भनिन् ‘हामीले नाफामा ध्यान दिएका छैनौ, नोक्सानमा छौं । तै पनि काम गरेका छौं, सरकारले पनि यो विषयमा ध्यान दिने छ ।’

उनले सरकारलाई संकुचीत भन्दा पनि उदारता देखाएर बजेट ल्याउन आग्रह गरिन ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरले अहिलेको अवस्थामा व्यावसायीको बैंक ब्याज ५ प्रतिशत घटाउन आग्रह गरेका छन् । ब्याज नघटेको खण्डमा उद्योगी चल्न नसक्ने उनको तर्क छ । चैत र वैशाखमा उद्योग बन्द भएको भन्दै यसमा सरकारले सोच्नुपर्ने समय आएको उनको तर्क छ । उनले सरकारले मजदुरतलाई चैत महिनाको तलब दिनु भनेपनि काम गर्नेलाई तलब दिने र नगर्नेलाई दिन नहुने उनको भनाई छ ।

काम गर्ने क्षेत्रमा त्रासको कारण,परिवारमा रोग भित्रने कारण, परिवारले सहयोग नगरेको कारण कर्मचारी, कामदार उद्योगमा नभएको भन्दै काम नगर्नेले ज्याला पाउने सम्भावना न्यून रहेको उनको भनाई छ । उद्योगीले काम गर्न मजदुरलाई बोलाए पनि नआएको भन्दै सरकारलाई श्रमिक स्वतस्फुर्त रुपमा आउने बाताबरण बनाउन उनले आग्रह गरेका छन् ।

चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले यो बेला कमाउने भन्दा पनि देश र जनताको लागि काम गर्नुपर्ने बेला आएको बताए ।

‘आर्थिक पाटो भोली हेरौला, अहिले देशको लागि काम गरौं कृषि र औषधीमा आत्मनिर्भर बन्ने काममा सरकारले प्याकेज ल्याउन आवश्यक छ । त्यसमा सरकार र सबै नीजि क्षेत्र लाग्न आवश्यक रहेको छ ।’