कोरोना सङ्क्रमित पहिल्याउँदै नेपाल टेलिकम – Himalayan Dainik

कोरोना सङ्क्रमित पहिल्याउँदै नेपाल टेलिकम


कोरोना सङ्क्रमित पहिल्याउँदै नेपाल टेलिकम

काठमाडौँ, ३ वैशाख – नेपाल टेलिकमले कोरोना भाइरसबाट आफ्ना प्रयोगकर्ता सङ्क्रमित भए नभएको पत्ता लगाउने प्रयास थालेको छ । यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ । जसबाट टेलिकमका प्रयोगकर्ताले आफ्नो अवस्था जानकारी दिनसक्ने छन् ।

नेपाल टेलिकमका अनुसार प्रयोगकर्ताले आफ्नो नम्बरबाट ८१४१९३ डायल गरेर त्यहाँ सोधिएको उत्तर दिनुपर्ने छ । टेलिकमले त्यहाँ चरणबद्ध प्रश्न सोध्ने व्यवस्था गरेको छ । ज्वरो आए नआएको, खोकी लागे नलागेकोजस्ता प्रश्न त्यसमा सोधिएको छ । उत्तरमा दुईवटा मात्र विकल्प राखिएकाले प्रयोगकर्ताले १ वा २ अङ्क थिचेर प्रश्नको जवाफ दिनसक्ने छन् ।

प्रयोगकर्ताबाट प्राप्त उत्तरको आधारमा टेलिकमले लक्षणको विश्लेषण गर्ने छ । उत्तरको आधारमा रातो, पहेँलो अथवा हरियो क्षेत्रमा नम्बर विभाजन गर्ने व्यवस्था गरेका छौँ, कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भन्नुभयो । त्यसरी छुट्याइएको नम्बर टेलिकमले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई उपलब्ध गराउने छ । जोखिमयुक्त रातो क्षेत्रमा परेका प्रयोगकर्तालाई समितिबाटै सम्पर्क गर्ने व्यवस्था हुने उहाँले जानकारी दिनुभयो । याे खबर गाेरखापत्र दैनिकमा छ ।