पूर्वराजाले घोषणा गरेको दुई करोड राहत कोषमा जम्मा – Himalayan Dainik

पूर्वराजाले घोषणा गरेको दुई करोड राहत कोषमा जम्मा


पूर्वराजाले घोषणा गरेको दुई करोड राहत कोषमा जम्मा

काठमाडौं, ३० चैत – पूर्वराजा ज्ञानेन्द्र शाहले घोषणा गरेको दुईकरोड रुपैयाँ सरकारको कोरोना कोषमा जम्मा भएको छ । हिमानी ट्रष्टमार्फत पूर्वराजाले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

“मानव जगतकै अस्तित्वमा चुनौतीको रुपमा आएको यस महामारीबाट विश्वका राष्ट्रहरु एक प्रकारले सम्बन्ध विच्छेदको अवस्थामा छन्,” कोषले विज्ञप्ति जारी गर्दै भनेको छ, “कोरोनाको यो स्थितिबाट विश्वमा जति मानिसको स्वास्थ्यमा असर गरेको छ, त्यति नै विश्व अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव परिरहेको छ ।

एकातिर महामारीको त्रासले आम नेपाली नागरिकहरु विक्षिप्त र संत्रासमा छने अर्कोतिर उनीहरु गास, बास र कपासको जोहो गर्ने समस्याबाट समेत आक्रान्त छन् । यस्तो विषम् परिस्थितिसँग जुध्न हातेमालो गर्दै नेपाल सरकारले सहयोग पुर्याउने हेतुले  पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट कोषलाई रु २ करोड बक्स भएको सर्वविदितै छ ।

ज्ञानेन्द्र  शाहबाट सरकारको यस महान योगदानलाई कार्यान्वयन गर्दै कोरोनाभाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि टेवा पुगोस् भन्ने उद्देश्यका साथ, उक्त रकम नेपाल सरकारको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्न पाउँदा हिमानी कोष परिवार भाग्यशाली महसुस गर्दछ ।” यो रकमको पूर्ण सदुपयोग होस् भन्ने पनि कोषको आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।