सांसद बस्नेतद्वारा जोखिमपूर्ण कार्यमा खट्ने प्रहरीलाई अत्यावश्यक सामाग्री वितरण – Himalayan Dainik

सांसद बस्नेतद्वारा जोखिमपूर्ण कार्यमा खट्ने प्रहरीलाई अत्यावश्यक सामाग्री वितरण


सांसद बस्नेतद्वारा जोखिमपूर्ण कार्यमा खट्ने प्रहरीलाई अत्यावश्यक सामाग्री वितरण

भक्तपुर, ३० चैत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण जिम्मेवारी लिई बहन गर्ने नेपाल प्रहरीलाई अत्यावश्यक सामाग्रीहरु वितरण गर्नुभएको छ ।

मानविय आस्था नेपालको सहयोगमा सांसद बस्नेतद्वारा कोरोना संक्रमणको जोखिम क्षेत्रमा कार्यरत नेपाल प्रहरीलाई सेनेटाइजर, हातधुने टेंकी, डिस्पोज गर्न मिल्ने पञ्जा, मास्कलगायतका अत्यावश्यक सामाग्रीहरु महानगरीय परिसर भक्तपुरलाई वितरण गर्नुभयो ।

५०० लिटरको हातधुने टेंकी ८ वटा, ३०० पिस पञ्जा, २ सय ९६ पिस पकेट सेनेटाइजर, ५ लिटर सेनेटाइजर, ५०० पिस मास्क, १५ पीपीईलगायतका रहेका छन् । ८ वटा टेंकीमा एक वटा महानगरीय प्रहरी कार्यालय, एक वटा जगाती प्रहरी वृत्त, एक वटा थिमी वृत्त तथा वाँकी पाँच वटा प्रहरीले आवश्यकता रहेको ठाउँमा आफै राख्ने गरी सांसद बस्नेतले हस्तारन्तरण गर्नुभएको हो । त्यस्तै १५ वटा पीपीईमा परिसरलाई पाँच वटा, थिमी वृत्तलाई पाँच वटा तथा जगाती वृत्तलाई पाँच वटा हस्तान्तरण गर्नुभयो ।

त्यस्तै परिसरलाई ९६ पिस सेनेटाइजर, थिमी वृत्तलाई ७५ पिस तथा जगाती वृत्तलाई ७५ पिस पकेट सेनेटाइजरसमेत हस्तान्तरण गर्नुभयो । उहाँले प्रहरीलाई उहाँले वितरण गर्नुभएको सामाग्रीमा एक प्रहरी एक सेनेटाइजरको व्यवस्था गर्नुभएको हो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले उक्त अत्यावश्यक सामाग्रीहरु भक्तपुर प्रहरी परिसका प्रमुख (एसपी) सविन प्रधान, जगाती वृत्तका प्रमुख (डिएसपी) चक्रराज जाशी, थिमी वृत्तका प्रमुख (डिएसपी) शान्तिराज कोइरालालाई हस्तान्तरण गर्नुभयो ।