प्रहरीको तलब कट्टा हुने – Himalayan Dainik

प्रहरीको तलब कट्टा हुने


प्रहरीको तलब कट्टा हुने

काठमाडौँ, २६ चैत – प्रहरी प्रधान कार्यालय, नक्सालले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्ने भएको छ ।

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने उद्देश्यले नेपाल प्रहरीको आर्थिक प्रशासन महाशाखाले रकम जम्मा गर्न निर्देशन दिएको हो ।

जम्मा गरिएको रकमको भौचर प्रतिलिपि प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय वा प्रदेश प्रहरी कार्यालयमा संकलन गरी आर्थिक महाशाखामा बुझाउन भनिएको छ । पत्रमा बैशाख महिनाको तलबबाट कोषमा रकम जम्मा गर्न भनिएको छ ।

पत्रमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी नायब निरीक्षक (सई) ले तीन दिन, प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) ले ५ दिन, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी नायब महानिरीक्षक (डीआईजी), प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी महानिरीक्षक (आईजी) ले ७ दिनको तलब कट्टी गरी कोषमा दाखिला गर्नुपर्ने भनिएको छ ।

जसअनुसार असईले २ हजार ६ सय ५८, सईले २ हजार ८ सय २० रुपैयाँ कोषमा दाखिला गर्नुपर्नेछ । इन्स्पेक्टरले ६ हजार, डीएसपीले ६ हजार ७ सय ३० र एसपीले ७ हजार २ सय ४५ रुपैयाँ जम्मा गनुपर्ने भनिएको छ । एसएसपीले ११ हजार ५३, डीआईजीले ११ हजार ९ सय, एआईजीले र आईजीले १४ हजार १ सय ६१ रुपैयाँ जम्मा गर्नुपर्ने भनिएको छ ।