देशभर २ हजार एम्बुलेन्स तयारी अवस्थामा – Himalayan Dainik

देशभर २ हजार एम्बुलेन्स तयारी अवस्थामा


देशभर २ हजार एम्बुलेन्स तयारी अवस्थामा

काठमाडौँ, २६ चैत – सरकारले कोभिड–१९ रोगको रोकथाम र जोखिम नियन्त्रणका सन्दर्भमा मुलुकभरका एक हजार ९३९ एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय र एम्बुलेन्स सञ्चालक संस्थामार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागि उक्त सङ्ख्यामा एम्बुलेन्स तयारी अवस्थामा रहने गरी व्यवस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । नोभल कोरोना (कोभिड–१९) रोगको सङ्क्रमण, रोकथाम सम्बन्धमा उपप्रधानमन्त्री एवं रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको आजको बैठकले यातायात आवागमनलाई कडाइ र निगरानी कायम राख्दै अत्यावश्यक खाद्यवस्तुको आपूर्ति व्यवस्थालाई नियमित गर्ने निर्णय गरेको छ । सरकारले जारी गरेको आदेशअनुरुप यातायात आवागमनलाई स्वाभाविक र सामान्य राख्ने निर्णय गरेको हो  ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको उक्त बैठकले कोभिड–१९ नियन्त्रणका लागि चालेको कदमको समीक्षा गरेको थियो । यस रोग नियन्त्रण र रोकथामका लागि तत्काल आवश्यक पर्ने औषधि, स्वास्थ्य सामग्री प्रचलित कानूनको अधिनमा रही छोटो र छिटो विधिबाट खरिद प्रक्रिया अघि बढाएको छ ।