युवासंघका सहसंयोजक पौडेलले गरे बृद्धाश्रमलाई खाद्यान्न सहयोग – Himalayan Dainik

युवासंघका सहसंयोजक पौडेलले गरे बृद्धाश्रमलाई खाद्यान्न सहयोग


युवासंघका सहसंयोजक पौडेलले गरे बृद्धाश्रमलाई खाद्यान्न सहयोग

काठमाडौं, २४ चैत – विश्वले कोरोना भाइरसको महामारीको सामना गरिरहेको छ । कोरोना भाइरसको महामारीमा सबैभन्दा बढी जोखिममा ज्याला मजदुरी गर्ने र अति विपन्न परिवार परेका छन् । दैनिक गुजारा गर्नेहरुसँग खानेकुरा जोहो नगरेका कारण उनीहरु भोकभोकै पर्ने अवस्था सृजना भएको छ ।

कोरोना महामारी रोक्न सरकारले चैत ११ देखि जारी लकडाउनको अवधि बैशाख ३ सम्म पु¥याएको छ । यस्तो अवस्थामा बृद्धाश्रम, बालबालिकालाई आश्रय दिएका संस्थाहरु जो सहयोगका भरमा चलेका हुन्छन्, त्यहाँ पनि खाद्यान्नको अभाव भइसकेको छ । यस्ता बृद्धबृद्धा र अनाथ बालबालिकालाई आश्रय दिने संस्थालाई सहयोग गर्ने काम गरेका छन्, युवासंघ नेपालका सहसंयोजक रमेश पौडेलले । पवित्र आश्रमलाई युवासंघ नेपालका सहसंयोजक पौडेलले जुटाएको सोमबार चामल लगायतका ५० हजार मूल्य बराबरका खाद्यान्न बितरण गरिएको छ ।

सहसंयोजक पौडेलले आश्रममै गएर अध्यक्ष दीक्षा चापागाईलाई १५ बोरा चामल, २ कार्टुन तेल, २ कार्टुन साबुन र १ बोरा दाल, १५ किलो चिनी, १ बोरा आलु लगायतका खाद्यान्न सोमबार प्रदान गरेका छन् । सहसंयोजक पौडेलको आग्रहमा देवेनारा ग्रुप बिराटनगरले उक्त रकम बराबरको खाद्यान्न सहयोग गरेको हो । जुन खाद्यान्न पौडेलले आश्रममै गएर प्रदान गरेका थिए ।