आज रामनवमी पर्व : मन्दिर तथा तीर्थस्थल सबै सुनसान – Himalayan Dainik

आज रामनवमी पर्व : मन्दिर तथा तीर्थस्थल सबै सुनसान


आज रामनवमी पर्व : मन्दिर तथा तीर्थस्थल सबै सुनसान

काठमाडौँ, २० चैत –  आज हिन्दू धर्मावलम्बीहरुको आस्थाको पर्व रामनवमी, देशैभरि श्रद्धापूर्वक मनाइँदै छ । यद्यपि कोरोना भाइरसको सन्त्रासका कारण पर्व भने औपचारिकतामै सीमित भएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा रामनवमी पर्व मनाइने गरिन्छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको बताइन्छ । त्यसैकाे सम्झनामा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा रहिआएकाे हाे ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मठमन्दिरमा पूजापाठ र मेला महाेत्सव लाग्ने गर्छ । राजधानीकै प्रसिद्ध राम मन्दिरमा ललितपुर, भक्तपुरबाट भक्तजन पूजाका लागि आउँथे । यसपालि भने यहाँ सुनसान रहने भएकाे छ ।