चीनद्वारा कोरोना परीक्षण किटसहित अन्य मेडिकल सामग्री निर्यातमा प्रतिबन्ध – Himalayan Dainik

चीनद्वारा कोरोना परीक्षण किटसहित अन्य मेडिकल सामग्री निर्यातमा प्रतिबन्ध


चीनद्वारा कोरोना परीक्षण किटसहित अन्य मेडिकल सामग्री निर्यातमा प्रतिबन्ध

बेइजिङ ,१९ चैत – चीनद्वारा कोरोना भाइरस परीक्षण किट र अन्य मेडिल सामग्रीको निर्यातमा प्रतिबन्ध लगाएको छ । चिनियाँ कोरोना भाइरस तथा अन्य मेडिकल सप्लाइ उत्पादक कम्पनीले आन्तरिक बजारमा ती सामग्री बिक्री गर्ने लाइसेन्स नलिएसम्म ती उत्पादनहरु अन्य मुलुकमा निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

चीनले निर्यात गरेका परीक्षण किट र अन्य मेडिकल सप्लाइका विषयमा युरोप अन्य विभिन्‍न उत्पादनको गुणस्तर र विश्वसनीयतामाथि प्रश्‍न उठ्नुका साथै आलोचना भएपछि चीनले यस्तो निर्णय गरेको हो ।

चीनले जारी गरेको यो नियम कोरोना भाइरस टेस्ट किट, मास्क, पीपीई, भेन्टिलेटर र इन्फ्रारेड थर्मोमिटर उत्पादन गर्ने सम्पूर्ण कम्पनीहरुलाई लागु हुने मंगबार चिनियाँ वाणीज्य मन्त्रालय, सामान्य प्रशासन र राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।

यसअघि चिनियाँ कम्पनीहरुले आफ्नो उत्पादन निर्यात गर्नका लागि सीई प्रमाणीकरण भए पुग्थ्यो । तर, अहिले आन्तरिक बजारमा बिक्री गर्न लाइसेन्स लिएको हुनुपर्ने प्रावधान राखिएको छ ।

त्यसैगरी ती कम्पनीहरुले सरकारले निर्धारण गरेको मापदण्ड पूरा गरेको हुनुपर्ने र चिनियाँ भन्सार नियोगले प्रमाणीकरण गरेको हुनुपर्नेसमेत विज्ञप्तिमार्फत उल्लेख गरिएको छ । विज्ञप्तिमा थप भनिएको छ, “यो नियम हरेक कम्पनीका लागि लागु हुनेछ । कसैले यो नियम उल्लंघन गर्न खोजेमा कडा कारबाही गरिनेछ ।”

विश्‍वभर कोरोना भाइरसको महामारी बढ्दै जाँदा कोरोना परीक्षण किट र अन्य मेडिकल सप्लाइको माग बढेको छ । यसको पूर्ती गर्नका लागि विभिन्‍न चिनियाँ कम्पनीहरुले आफ्ना उत्पादन निर्यात गरेका थिए । तर, उक्त निर्यात गरिएका उत्पादनहरु नक्कली र गुणस्तरहीन भएको भन्दै आलोचना हुनुका साथै विभिन्‍न मुलुकले फिर्ता पठाउने तयारी गरेका छन् । सुरुमा नेदरल्यान्डमा पठाइएका कोरोना भाइरसविरुद्ध लड्‍न आवश्यक उपकरणहरु नक्कली भएको भन्दै आलोचना गरेको थियो । नेदरल्यान्डले यसको अनुसन्धान गरिरहेको छ ।

नेपालमा पनि चीनबाट निर्यात गरिएका सामानहरु नक्कली भएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । गत साता सार्वजनिक भएको तथ्यांक अनुसार सीई प्रमाणपत्र भएका १०२ कम्पनीमध्ये २१ कम्पनीले मात्रै चीनभित्र बिक्री वितरण गर्न लाइसेन्स लिएका छन् ।  – साउथ चाइना मार्निङ् पोष्ट