आर्थिक वृद्धिदर २ प्रतिशत घट्न सक्ने आशंका – Himalayan Dainik

आर्थिक वृद्धिदर २ प्रतिशत घट्न सक्ने आशंका


आर्थिक वृद्धिदर २ प्रतिशत घट्न सक्ने आशंका

काठमाडौँ, १९ चैत – कोरोना भाइरसको कारण सरकारले यो बर्ष लिएको आर्थिक बृद्धिदरको लक्ष्य पुरा नहुने देखिएको छ। कोरोना भाइरसका कारण देशको आर्थिक वृद्धिदर २ प्रतिशत सम्म घट्न सक्ने अर्थमन्त्री डा। युवराज खतिवडाले बताएका छन ।

कोरोना नियन्त्रणका लागि लिएका कदमका कारण आर्थिक वृद्धिमा असर पर्ने उनले बताएका हुन ।हालको अवस्था हेर्दा १ देखि २ प्रतिशतसम्म आर्थिक वृद्धि घट्ने देखिएको बताउदै उनले भने ‘छोटै अवधिमा सङ्क्रमणको जोखिम सकियो भने १ प्रतिशत घट्ने देखिन्छ । लामै भयो भने २ प्रतिशतसम्म यो आर्थिक वर्षमा असर पर्न सक्ला ।’

‘यो त प्रारम्भिक अनुमान मात्र हो । सबै कुरा अहिले नै प्रक्षेपण गर्न कठिन छ’ उनले भने ‘यो सङ्क्रमणको जोखिम कहिलेसम्म रहन्छ विश्वव्यापी रुपमा कोरोनाको ग्राफ उभों जाँदैछ ।’ लकडाउन गरेको र सीमा बन्दको अवधिसम्म हेर्ने हो भने चैत महिना लगभग गएको अर्थमन्त्री खतिवडाले बताए ।

विकास निर्माणको धेरै काम हुने फागुन, चैत, वैशाख र जेठ महिना खेर जाने अवस्था आएकाले लिएको आर्थिक वृद्धि लक्ष्य पुरा नहुने देखिएको उनको भनाइ छ । यसैगरी फेब्रुअरी र मार्च पर्यटकको सिजन पनि खेर गयो । तेस्रो वैदेशिक रोजगारमा जानेहरुको अवस्था पनि अन्त्य भएको छ ।

‘यी सबै असरहरु समग्र अर्थतन्त्रमा परेकाले हामीले जुन आर्थिक वृद्धिको लक्ष्य राखेका छौँ, त्यसमा त पुगिँदैन, स्वभाविक हो । सरकारले चालु आर्थिक वर्षमा साढे ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।

चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा राजश्व र खर्च घट्ने संशोधित अनुमान गरे पनि आर्थिक वृद्धिको लक्ष्यमा भने संशोधन गरिएको छैन । राजश्व र खर्चको संशोधित लक्ष्यले साढे ८ प्रतिशत आर्थिक वृद्धि हुने देखिएको थिएन । कोरोना कहरले मुलुक लकडाउनमा गएपछि यो झनै सम्भव देखिएन ।

विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले यसअघि नेपालको आर्थिक विस्तार ५ प्रतिशतसम्म हुने अनुमान सार्वजनिक गरेका थिए । यस्तै छिमेकी मुलुक कोरोनाले गर्दा भारतको पनि आर्थिक विस्तार खुम्चिएर साढे २ प्रशितमा सीमित रहने अनुमान गरिएको छ ।  भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले नेपालमा पनि जोखिम बढेको उनको भनाई छ ।