मजदुरको विवरण र विदेशबाट आएकाको तथ्यांक संकलन गर्न मुख्यमन्त्री राईद्वारा निर्देशन – Himalayan Dainik

मजदुरको विवरण र विदेशबाट आएकाको तथ्यांक संकलन गर्न मुख्यमन्त्री राईद्वारा निर्देशन


मजदुरको विवरण र विदेशबाट आएकाको तथ्यांक संकलन गर्न मुख्यमन्त्री राईद्वारा निर्देशन

विराटनगर, १८ चैत – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नागरिकको पहिचानमा जुट्न स्थानीय तहहरूलाई निर्देशन दिएका छन् ।

कोरोना भाइसरको रोकथाम तथा प्रतिरक्षाका लागि गठित स्थानीय तह सम्पर्क, समन्वय, प्रचार–प्रसार तथा जनचेतना समितिको बैठकमा मंगलबार मुख्यमन्त्री राईले कोरोना भाइरस संक्रमणको आशंका भएका सबै व्यक्तिको पहिचान गर्न स्थानीय तहहरूलाई निर्देशन दिएका हुन । राईले भने, ‘‘विदेशबाट आएका, होम क्वारेन्टाइमा रहेका र क्वारेन्टाइनमा राख्नुपर्नेको तथ्यांक चाँडो संकलन गर्नुहोस् । ढिलो हुनुहुन्न ।’’

प्रदेश नं १ कोरोना रोकथाम, प्रतिरक्षा र उपचार निर्देशन समितिको अध्यक्षसमेत रहेका मुख्यमन्त्री राईले कोरोनाको रोकथामका लागि स्थानीय तहको भूमिका प्रभावकारी र महत्त्वपूर्ण हुने बताए । उनले विशेष हेरचाह गर्नुपर्ने सुत्केरी र गर्भवतीहरू, अपांगता भएकाहरू र दैनिक ज्यालादारीमा काम गर्नेहरूको विवरण संकलन गर्न पनि आग्रह गरे ।

उनले भने, ‘‘विपन्न र दैनिक ज्यालादारी गर्नेहरूलाई स्थानीय तहले राहत दिन र स्थानीय तहबाट सम्भव नभए प्रदेश सरकारले व्यवस्था मिलाउनेछ ।’’ बैठकले कोरोना भइरसविरुद्ध लड्न स्थानीय पालिकाहरूको नेतृत्वमा स्थानीय तहमा विभिन्न समिति निमार्ण गर्ने, प्रदेशका सबै स्थानीय तहको तथ्यांक संकलन गर्ने, राहात वितरणको कामलाई एकद्वार प्रणालीबाट वितरण गर्ने, स्थानीय तहले तथ्यांकहरू दैनिक मुख्यमन्त्री कार्यलयमा पठाउने, स्थानीय पालिकाहरूसँग नगरपालिका महासंघ, गाउँपालिका महासंघ, जिल्ला समन्वय समितिहरूले समन्वय गर्नेलगायत निर्णय गरेको छ ।

लकडाउनको अवधिमा कृत्रिम अभाव हुन नदिन र नागरिकलाई पर्ने समस्याका विषयमा अनुगमन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोको संयोजकत्वमा १० सदस्यीय अनुगमन समिति गठन गरेको छ । समतिको सदस्यमा राज्य मन्त्रीहरू, विपक्षी दलका नेता, समाजवादी पार्टी, लिम्बुवान पार्टी र राप्रपाका नेता, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रमुख न्यायधिवक्ता र मुख्यमन्त्रीका आर्थिक सल्लाहाकार छन् ।

कोरोनासम्बन्धी तत्कालको नागरिकलाई राहत, उद्धार गर्नुपर्ने वा उजुरी, गुनासो र सुझाव भए प्रदेश सरकारले स्थापना गरेको कोरोेना सूचना डेस्कमा र मोबाइल एप्लिकेसनमार्फत जानकारी दिनसमेत बैठकले सबैलाई अपिल गरेको छ ।