कोरोना परीक्षणको दायरा बढाउन सभामुख सापकोटाको आग्रह – Himalayan Dainik

कोरोना परीक्षणको दायरा बढाउन सभामुख सापकोटाको आग्रह


कोरोना परीक्षणको दायरा बढाउन सभामुख सापकोटाको आग्रह

काठमाडौँ, १८ चैत – संघिय संसदका सभामुख अग्निप्रसाद सापकोटाले उपलब्ध स्वास्थ्य सामग्री तथा उपकरणको समुचित वितरणमार्फत स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिको मनोबल उच्च बनाई कोभिड–१९ को परीक्षणको दायरा बढाउन आग्रह गर्नुभएको छ ।

उहाँले आज एक अपिल जारी गर्दै ‘लकडाउन’बाट प्रभावित विभिन्न क्षेत्रका समुदायलाई सम्बोधन गर्दै आर्थिक राहत तथा सहुलियतका कार्यक्रम अघि बढाएकामा प्रशंसा गर्दै दैनिक ज्यालामा निर्भर नागरिकका लागि राहतको उचित प्रबन्ध गर्न जरुरी रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले यो सङ्क्रमण भयावह हुन नदिन विकल्पहीन रहेको लकडाउनको पालना गरी घरभित्र बस्न, जमघट नगर्न, अत्यावश्यक कामका लागि बाहिर निस्कन परे सुरक्षाका उपाय अपनाउन सबैमा अपिल गर्नुभएको छ ।

सरकारका तर्फबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न प्रयास भइरहेको, अत्यावश्यक स्वास्थ्य सामग्रीको प्रबन्ध भइरहेको तथा विभिन्न मित्रराष्ट्रले सहयोग गरिरहेको उल्लेख गर्नुभएको छ ।

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको विषम परिस्थितिमा अग्रपङ्क्तिमा रहेर डटिरहनुभएका स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीको उच्च प्रशंसा गर्नुभएको छ ।