लकडाउन प्रभावकारी बनाउन गृहमन्त्रालयले गर्यो महत्वपूर्ण १० निर्णय (सूचीसहित) – Himalayan Dainik

लकडाउन प्रभावकारी बनाउन गृहमन्त्रालयले गर्यो महत्वपूर्ण १० निर्णय (सूचीसहित)


लकडाउन प्रभावकारी बनाउन गृहमन्त्रालयले गर्यो महत्वपूर्ण १० निर्णय (सूचीसहित)

काठमाडौँ, १७ चैत – विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को नयिन्त्रण तथा रोकथामको लागि गृहमन्त्रालयले लकडाउनलाई प्रभावकारी बनाउन १० वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

मन्त्रालयले आइतवार गृहमन्त्री राम बहादुर थापा ꞌबादलꞌको अध्यक्षतामा आपूर्ति व्यवस्थापनलाई सहज बनाउने विषयमा बैठक बसी छलफल भएको छ । उक्त छलफलमा गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरु, महानगरपालिका तथा नगरपालिकाका प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो । उक्त बैठकले गरेका देहाय बमोजिमका निर्णयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्नु गराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

निर्णयहरु

१. आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले लिने ।
२. विक्री वितरण गर्दा न्यूनतम एक मिटरको दुरी कायम गर्ने गरी स्थानीय तहले मापदण्ड बनाउने ।
३. आपूर्ति व्यवस्थापनलाई सहज बनाउन प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधित्व हुने गरी समिति गठन गर्ने ।
४. वडास्तरीय समितिले आफ्नो वडा भित्र रहेका हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुको लगत संकलन गर्ने ।
५. स्टोर वा बिक्रेताले बिक्री गर्दा न्यूनतम दैनिक उपभोग्य वस्तुहरु रहने गरी कम्बो प्याकेज बनाई बिक्री वितरण गर्ने ।
६. हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुलाई वडास्तरीय समितिले सहयोग स्वरुप न्यूनतम दैनिक उपभोग्य वस्तुहरुको प्याकेज उपलब्ध गराउने । सहयोगको प्याकेज बनाउदा ४ जना सम्म सदस्य भएको परिवार र ४ जना भन्दा बढी सदस्य भएको परिवारलाई पुग्ने गरी २ प्रकारको बनाउने ।
७. कुनै निकाय/संघ/संस्था/व्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्‍नुपर्ने । स्थानीय तहले तोकेको मापदण्ड अनुसारका सहयोग सामग्रीहरु भएमा मात्र स्थानीय तहले स्वीकार गरी वडास्तरीय समिति मार्फत वितरण गर्ने । सो को विवरण अनिवार्य रुपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने ।
८. सहायताको नाममा कसैले पनि चन्दा उठाउन वा आफुखुसी सहायता वितरण गर्न नपाउने ।
९. वितरणमा दोहोरोपना हुन नदिने ।
१०. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य वस्तुहरुको मौज्दात नियमित रुपमा अद्यावधिक गरी सार्वजनिक गर्ने ।