लकडाउनका बेला पैसा नभएर भोकै बस्नुपर्‍यो भने ‘मेट्रो वान’मा कल गर्नुहोस् – Himalayan Dainik

लकडाउनका बेला पैसा नभएर भोकै बस्नुपर्‍यो भने ‘मेट्रो वान’मा कल गर्नुहोस्


लकडाउनका बेला पैसा नभएर भोकै बस्नुपर्‍यो भने ‘मेट्रो वान’मा कल गर्नुहोस्

काठमाडौँ, १६ चैत – काठमाडौँ उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको छ भने महानगरीय प्रहरी कार्यालयको आवश्यक समन्वयमा अभावमा बस्न बाध्य सर्वसाधारणका लागि निःशुल्क खाद्यान्न उपलब्ध गराउने भएको छ ।

राहत वितरणका लागि विभिन्न बैंक तथा व्यवसायीसँग समन्वय थालिसकेको कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । उनले आफ्नै पहलमा आजदेखि उक्त अभियान शुरु गरेको जानकारी दिए । पहिलो चरणमा २५८ जनालाई पुग्ने खाद्यान्न सङ्कलन भइसकेको र आज वितरण गरिने पोखरेलले बताए । मागका आधारमा तीनै जिल्लामा निःशुल्क राहत दिइने उनले बताए ।

मुलुकमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेपछि सरकारले अत्यावश्यक कामबाहेक बाहिर नस्निकन आदेश जारी गरेको आज छैठौँ दिन हो । ‘मानवीयताका लागि जे सकिन्छ सहयोग गरौँ भनेर लागेका छौँ, कोही पनि भोकै बस्नु नपरोस् भनेर पैसा कै अभावमा भोकै बस्न बाध्य भएका नागरिकलाई निःशुल्क खाद्यान्न वितरण गर्न लागेका छौँ’, डिआइजी पोखरेलले भने, ‘समस्या हुनेले सिधै मलाई (मेट्रो वानमा) फोन गर्न सक्नुहुन्छ, प्रहरीको १०० नम्बर वा नजिकको प्रहरी कार्यालयमार्फत सम्पर्कमा आउन सक्नुहुन्छ, हामी राहत लिएर आउने छौँ ।’

कसैले आफ्नो घरमा भएर पनि या किनेर खान सक्ने आए भने कारवाही गर्ने चेतावनी प्रहरीको छ । त्यसका लागि मातहतका प्रहरी प्रभाव र वृत्तले छानविन गर्न छन् । वास्तविक प्रभावितलाई मात्रै राहत दिइनेछ ।