भक्तपुरमा लकडाउन उल्ल‌ंघन गर्दै सर्वसाधारणको भीड जताततै – Himalayan Dainik

भक्तपुरमा लकडाउन उल्ल‌ंघन गर्दै सर्वसाधारणको भीड जताततै


भक्तपुरमा लकडाउन उल्ल‌ंघन गर्दै  सर्वसाधारणको भीड जताततै

भक्तपुर,१६ चैत – भक्तपुर नगर क्षेत्रभित्र खुला तरकारी, फलफूल तथा खाद्य स्टोरहरुमा किनमेल गर्नेको भीड लागेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको बेवास्ता गर्दै सार्वजनिक स्थानहरुमा खुलेको खुला तरकारी, फलफूल तथा खाद्य पसलमा मेला नै लागे जस्तो देखिन थालेको छ ।

भक्तपुर नगरपालिकाले खाद्यान्न, तरकारी एवं अत्यावश्यक सामान खरिदका लागि नगर क्षेत्रभित्र दैनिक बिहान ५ देखि ८ र साँझ ५ देखि ७ बजेसम्म समय निर्धारण गरेको छ। नगरपालिका र महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त जगातीको समन्वयमा दूरी कायम गरेर घेरा लगाइएको भएपनि सर्वसाधारणले बेवास्ता गर्दै दूरीको ख्याल गरेको छैन।

नगरपालिकाले टौमढी, गःहिटी, नासमना, दत्तात्रय, च्याम्हासिंह, कमलविनायकमा बजार व्यवस्थापन गरेको छ। त्यस्तै, सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार, सूर्यविनायक, सल्लाघारीलगायत क्षेत्रहरुमा पनि तरकारी, फलफूल तथा खाद्य पसलहरुमा सर्वसाधारणको भीड लगेको छ।

नगरपालिकाले लकडाउनका लागि राम्रो व्यवस्था गरेपनि स्थानीय बासिन्दाले त्यसको अटेर गर्दै बजारमा भीड गर्ने गरेका छन्। कतिपयले मास्कको समेत प्रयोग नगरी सार्वजनिक स्थलमा हिँडिरहेका छन् । सिद्धपोखरी, कमलपोखरीमा बिहानैदेखि मर्निङवाक गर्न आउनेको भीड धेरै नै हुने गरेको स्थानीयले बताए। भक्तपुरको बजार क्षेत्रमा पनि बिहान र बेलुका हिड्ने बाक्लै हुने गरेको स्थानीय बताउँछन् । जिल्ला प्रशासन, प्रहरी, नगरपालिकाले माइकिङ् गरेर नागरिकलाई लकडाउनको पालना गर्न र घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ। तर, नागरिकले भने बेवास्ता गर्दै आइरहेका छन्।