कोरोना रोक्न सरकार युद्धस्तरमा कार्यरत सबै मिलेमात्र लडाइँमा विजय हासिल – Himalayan Dainik

कोरोना रोक्न सरकार युद्धस्तरमा कार्यरत सबै मिलेमात्र लडाइँमा विजय हासिल


कोरोना रोक्न सरकार युद्धस्तरमा कार्यरत सबै मिलेमात्र लडाइँमा विजय हासिल

काठमाडौँ, १५ चैत – कोरोना सङ्क्रमणको थप बिरामी फेलापरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पताल धनगढीमा ३४ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । नेपालमा कोरोनाको चौथो केस हो । पुष्टि भएका सबैलाई सरकारले निगरानीमा राखेको छ । कोरोना फैलिन नदिन सरकार युद्धस्तरमा कार्य गरिरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले सङ्क्रमितको उपचार प्रभावकारी रूपमा भइरहेको जानकारी दिनुभयो । उहाँले कोरोनाबाट बच्नु सबैभन्दा महत्वपूर्ण भएको बताउनुभयो । मानिससँग गफ गर्दा तथा बस्दा एक मिटर टाढा बस्नु नै कोरोनाबाट सचेत बन्ने प्रमुख उपाय हो । साथै विदेशबाट आएका व्यक्तिले विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो ।

डा. कार्कीले सरकारले कोरोना रोक्न युद्धस्तरमा काम गरिरहेको जानकारी दिँदै सबै मिलेमात्र कोरोना विरुद्धको लडाइँमा विजय हासिल गर्न सकिने बताउनुभयो । उहाँले शुक्रबार ३ बजेसम्म कसैलाई पनि कोरोनाको लक्षण नदेखिएको र उनीहरू सरकारको उच्च निगरानीमा रहेको बताउनुभयो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना पुष्टि भएकाको अवस्था सामान्य रहेको बताउनुभयो । देवकोटाले सङ्क्रमितमध्ये दुवैको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जानकारी दिनुभएको हो ।

हालसम्म ८०३ जनामा नमुना परीक्षण गरिएकोमा चार जनामा सङ्क्रमणको पुष्टि भएको छ । एक जना दुई महिना अगाडि नै उपचारपछि सङ्क्रमण मुक्त भई घर फर्किसक्नुभएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।